अमेरिकामा चीनविरुद्ध शत्रुताको भावना बढ्दै गएका वेला चिनियाँ आमजनतामाझ पनि अमेरिकाप्रतिको घृणा बढ्दै गएको छ । विशेषतः सामाजिक सञ्जालमा केही चिनियाँ जनतामा राष्ट्रवादी भावना अत्यधिक बढेको कुरो सत्य हो । तथापि, सामान्यतया सबै चिनियाँ जनतामा यो राष्ट्रवादी भावना देखिँदैन । यदि हामीले अमेरिकाप्रतिको राष्ट्रवादी भावनाबारे व्यवसायीसँग छलफल गर्यौँ भने व्यवसायीको मनोवृत्ति सामाजिक सञ्जालका चिनियाँ प्रयोगकर्ताको जस्तो छैन ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध सुरु गरेको व्यापारिक युद्धका बाबजुद पनि चिनियाँ व्यवसायीले अमेरिकासँगको व्यापारलाई निरन्तरता दिएका छन् । यी व्यापारीले आसियान मुलुक वा दक्षिण अमेरिकी राष्ट्रमार्फत व्यापार गर्छन् । अर्थात् चीन र अमेरिकाबीच प्रत्यक्ष होस् वा अप्रत्यक्ष, अहिले पनि व्यापार जारी नै छ । निःसन्देह केही अमेरिकी सार्वजनिक बुद्धिजीवीले चीन मामिलामा कडा अडान राख्छन् र राष्ट्रवादी विचार प्रदर्शन गर्छन् । त्यसैगरी चिनियाँ सार्वजनिक बुद्धिजीवीमाझ पनि यस्ता भावना देख्न सकिन्छ । यद्यपि, राष्ट्रवादी भावनाको उभार विशिष्ट सामाजिक सन्दर्भमा मात्र निर्भर हुने गर्छ ।
सामाजिक सञ्जालमा वास्तवमा राष्ट्रवादी भावनाको फैलावट छ, तर अन्य क्षेत्रमा विशेषतः चिनियाँ सरकारभित्र सामाजिक सञ्जालमा पोखिएजत्तिको राष्ट्रवादी भावना छ भन्ने मलाई लाग्दैन । मैले चिनियाँ अधिकारीले अमेरिकामाथि राष्ट्रवादी आरोप–प्रत्यारोप लगाएको देखेको छैन, बरु अमेरिकी कांग्रेसका केही सदस्यले चीनलाई सार्वजनिक रूपमा लान्छना लगाउने गर्छन् । चिनियाँ नेता अमेरिकाबारे धेरै तर्कसंगत धारणा राख्छन् र यी नेता दुई देशबीचको सम्बन्ध स्थिर रूपमा विकास गर्न चाहन्छन् ।
दशकौँदेखि चिनियाँ राष्ट्रवादको मेरो विस्तृत अवलोकनका आधारमा मैले चिनियाँ सरकारले घरेलु राष्ट्रवादी भावनालाई प्रभावकारी रूपमा व्यवस्थापन गरेको देखेको छु । तसर्थ, म यस सन्दर्भमा कम निराशावादी हुने गर्छु । मुख्यतया, दुवैतिरका चर्चित एवं आक्रामक सार्वजनिक व्यक्तित्वले एकअर्कालाई धेरै नकारात्मक रूपमा चित्रण गरेका कारण वर्तमान अवस्था निम्तिएको हो भन्ने मलाई लाग्छ । आजभोलि धेरै मानिसले चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धात्मक सम्बन्धबारे कुरा गरिरहेका छन् तर, यिनलाई प्रतिस्पर्धा कस्तो हो भन्ने थाहा छैन । मेरो विचारमा प्रतिस्पर्धात्मक सम्बन्ध पनि दुई किसिमका हुन्छन् अर्थात् राम्रो र नराम्रो प्रतिस्पर्धा ।
दुवै देशका जनताले हतियारको प्रतिस्पर्धाबाट झस्किनु आवश्यक छ किनभने यो नै सबैभन्दा विनाशकारी प्रतिस्पर्धा हो
उदाहरणका लागि एकातिर अर्थव्यवस्था र प्रविधिमा प्रतिस्पर्धा हुने गर्छ । यस्तो प्रतिस्पर्धा अपरिहार्य छ र सबै सम्भावनालाई नियाल्ने हो भने लाभदायक पनि छ किनभने यी पाटोमा हुने स्वस्थ प्रतिस्पर्धाले वास्तवमा दुवै पक्षको विकासलाई प्रोत्साहन गर्नेछ । चिप्सका सन्दर्भमा अमेरिकाले चीनलाई उन्नत ‘प्रोसेस्ड चिप्स’को निर्यात रोकेको छ, तर चीनले आफ्नै घरेलु डिजाइनमा चिप्सको विकास गर्न महत्वपूर्ण प्रगति हासिल गरेको छ ।
यसबाहेक सामाजिक–राजनीतिक संस्था र राजनीतिका सन्दर्भमा प्रतिस्पर्धा हुने गर्छ । केही राजनीतिज्ञले लोकतन्त्र र निरंकुशताबीचको बहसलाई वैचारिक प्रतिस्पर्धामा परिणत गरिरहेका छन् । यद्यपि, यो प्रतिस्पर्धाबारे चिन्ता लिनु आवश्यक छैन किनभने चीनसँग ऐतिहासिक परम्परा र संस्कृतिमा निहित छुट्टै राजनीतिक प्रणाली छ । वास्तवमा हामीले हतियारको प्रतिस्पर्धाबाट झस्किनु आवश्यक छ, किनभने यस्तो प्रतिस्पर्धा नै सबैभन्दा विनाशकारी हुने गर्छ ।
आसियान मुलुकमा काम गरेको मेरो वर्षौँको अनुभवका आधारमा मैले यसका सदस्य राष्ट्रका मानिसले बेइजिङ र वासिङटनबीचको आर्थिक प्रतिस्पर्धालाई खुलेरै अँगालेका छन् भन्न सक्छु । आसियान र अन्य मुलुकका मानिस विभिन्न क्षेत्रमा हुने प्रतिस्पर्धाबारे चिन्ता व्यक्त गर्दैनन् । यद्यपि, हतियारको प्रतिस्पर्धा हुने हो कि भन्ने विषयमा यी क्षेत्रका मानिस उल्लेखनीय ढंगले सशंकित हुने गर्छन् । उदाहरणका लागि, चीन र अमेरिकाबीच चलिरहेको हतियार प्रतिस्पर्धाले यी क्षेत्रमा निम्तिन सक्ने सम्भावित नतिजालाई लिएर मानिस चिन्तित हुने गर्छन् ।
मेरो विचारमा चीन र अमेरिका दुवैले आसियानको यो अडानमा ध्यान दिनु निकै महत्वपूर्ण छ । हालका वर्षमा आसियानले सामूहिक रूपमा तटस्थ रहन र कुनै पनि पक्षको समर्थन नगर्ने निर्णय लिएको छ । हालको विश्वव्यापी वातावरण शीतयुद्धको युगभन्दा धेरै फरक छ, अर्थात् साना राष्ट्रले उहिले अमेरिका र सोभियत संघबीच एक पक्ष छान्नुपरेको थियो, तर अहिले यस्तो अवस्था देखिँदैन ।
हामीलाई अहिले राजनीतिक आपसी विश्वासको आवश्यकता छ । चीन र अमेरिकाबीचको व्यापारिक र आर्थिक सहयोगमा अझै पनि वृद्धि हुनेछ भन्नेमा धेरै जनतालाई विश्वास छ । यति मात्रै नभई राजनीतिक मोर्चामा थप आपसी विश्वास आवश्यकता छ । पछिल्ला महिनामा धेरै अमेरिकी उच्चस्तरीय सरकारी अधिकारीले चीन भ्रमण गरेका छन् । यदि दुई देश राजनीतिक संवादमा संलग्न हुन थाले भने दुवै देशका समाज आपसी विश्वासको दिशामा अगाडि बढ्न सक्छन् । दुई पक्षबीचको सञ्चारको अभावका कारण चीन र अमेरिकाका जनताले अहिले एकअर्काप्रतिको विश्वास गुमाइसकेकाले राष्ट्रवादको भावना चर्केको हो । तसर्थ, हामी दुई देशले स्पष्ट रूपमा संवाद गरून् भन्ने आशा गरौँ ।
चीन–अमेरिका सम्बन्ध निकै महत्वपूर्ण छ । यो एक साधारण द्विपक्षीय सम्बन्ध मात्र होइन, किनभने दुवै राष्ट्र विश्वव्यापी व्यवस्थामा अत्यावश्यक स्तम्भका रूपमा काम गर्छन् । अमेरिकाका लागि विश्व व्यवस्थालाई कायम राख्न चीनको आवश्यकता छ र चीनलाई पनि विश्व–व्यवस्थामा अग्रणी भूमिका खेलिरहेको अमेरिकाको आवश्यकता छ । नागरिक समाजका सदस्यको हैसियतमा हामीले चीन–अमेरिका सम्बन्धको सकारात्मक दिशालाई पुनस्र्थापित गर्न सक्दो सहयोग गर्नुपर्छ ।
(जेङ चाइनिज युनिभर्सिटी अफ हङकङका प्राध्यापक हुन्) ग्लोबल टाइम्सबाट