आलुखेतीमा प्रसिद्धि कमाएको भुष्मे गाउँका बासिन्दा आफ्नो संस्कृति र प्राकृतिक सौन्दर्यको प्रवर्द्धनमा जुटेका छन् । उनीहरूले यहाँ तामाङ होमस्टे सञ्चालन गरेर पर्यटकलाई रैथाने परिकारका स्वाद चखाउने गरेका छन् ।
अलैँची खेती र आलुखेती भुष्मेगाउँको प्रमुख आकर्षण हो । त्यसैगरी, त्यहाँको तामाङ कला, संस्कृति, गाउँलेको स्वागत सत्कारले पनि पर्यटकलाई लोभ्याइरहेको छ । भुष्मेमा तामाङ होमस्टे सञ्चालन गरी गाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मिलिजुली आमा समूह र लोकप्रिय युवा क्लब लागिपरेका छन् । करिब ५५ घरधुरी रहेको भुष्मे गाउँमा पाँच घरबाट होमस्टे सुरुवात गरिएको छ । अझै पाँच घरमा होमस्टे निर्माण भइरहेको छ । एकैपटक ५० जना पाहुना यहाँ वास बस्न सक्ने मिलिजुली आमा समूहकी अध्यक्ष तारादेवी तामाङले बताइन् ।
करिब एक हजार पाँच सय मिटर उचाइमा रहेको भुस्मे गाउँ पुगेपछि अर्गानिक अन्नका साथमा कोदोको ढिँडो, लोकल कुखुरा, गुन्द्रुक–भट्टको अचार, सिस्नुको खोले, आलु, च्याउ, टुसा, कुरिलो, वनतरुलको परिकारका साथमा दूध, दही खान पाइने स्थानीय समाजसेवी होमराज तामाङले बताए । ‘प्राकृतिक हिसाबले भुष्मे गाउँ अन्य गाउँभन्दा कम छैन,’ उनी भन्छन्, ‘भुष्मे गाउँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायतका हिमशृंखला देख्न सकिन्छ ।’ यस गाउँबाट घलेगाउँ, घनपोखरा, ढँगैलगायतका पर्यटकीय गाउँ देख्न सकिन्छ ।
त्यस्तै, बेँसीसहर बजार, खुदी सिम्पानी र घनपोखराका मनोरम गाउँ, नागबेली बगेको मस्र्याङ्दी र खुदीखोला देख्न सकिन्छ । सर्लक्क ढुंगा बिछ्याइएका गाउँघरका गल्ली, फरक–फरक शैलीमा निर्माण गरिएका घर, प्रशस्त मात्रामा रहेको खेतीयोग्य भूमि अनि त्यहीँ उत्पादन हुने स्थानीय खाद्यपदार्थले भुष्मे पुग्ने जोकसैको मन लोभ्याउनुका साथै तामाङ समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउँदै आएको अजय तामाङले बताए । सदरमुकाम बेँसीसहरबाट झन्डै डेढ घन्टाको मोटर यात्रापछि भुष्मे गाउँ पुग्न सकिन्छ ।