भएका दुईवटै हेलिकोप्टर दुर्घटनामा परेपछि जहाजविहीन मनाङ एयर
तीन महिनाको बीचमा दुईवटा हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । कानुनतः नेपालमा यो प्रमाणपत्र नलिई व्यावसायिक रूपमा वायुयान सञ्चालन गर्न पाइँदैन ।
प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउनेछैन । तीन महिनायता मनाङ एयरका दुवै हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएका हुन् । पछिल्लोपटक शनिबार सोलुखुम्बुको लुक्लाबाट उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकोप्टर खुम्बुपासाङल्हामु गाउँपालिका–४, लोबुचेमा दुर्घटना भएको हो, जसमा चालक घाइते भएका छन् । यसअघि गत २६ असारमा पहिलो होलिकोप्टर दुर्घटना हुँदा चालकदलका एक सदस्यसहित ६ जनाको मृत्यु भएको थियो । दुवै हेलिकोप्टर दुर्घटनामा परेपछि अहिले मनाङ एयर अहिले जहाजविहीन भएको छ । पछिल्लो दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली आज (आइतबार) हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।
प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ ।
वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र प्रदान गर्दा उल्लेख भएको सर्तको पालना नगरेमा वा त्यस्तो व्यवस्था र सर्तविपरीत कार्य गरेमा महानिर्देशकले त्यस्तो वायुसेवा सञ्चालन संस्थालाई प्रदान गरिएको वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र बढीमा ६ महिनासम्मका लागि निलम्बन वा प्रमाणपत्र नै रद्द गर्न आदेश दिन सक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मनाङ एयरको उडानमा तीन महिनाका लागि रोक लगाइएको हो ।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरण नियमावलीअनुसार वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र निलम्बन वा रद्द गर्ने सम्बन्धमा कारबाही अघि बढाएको अवस्थामा महानिर्देशकले त्यस्तो वायुसेवाको उडानमा रोक लगाउन सक्छन् ।
घाइते पाइलटलाई उपचारका लागि लगियो भारत

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारत लगिएको छ । दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका उनलाई परिवार र एयरलाइन्सको सल्लाहमा ह्याम्सकै विशेषज्ञ टोलीले मेडिकल स्कर्टिङ गरेर मुम्बईस्थित नेसनल बर्न सेन्टर लगेको हो ।
श्री एयरलाइन्सको चार्टर्ड उडानमा शनिबार राति भारत लगिएको अस्पतालले जनाएको छ । ह्याम्स अस्पतालका अनुसार पाइलट सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन् ।
साथै, उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।