विद्यार्थी टिकाउन विद्यालयलाई १० लाखको अक्षय कोष

शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङमा रहेको भीमोदय माध्यमिक विद्यालयमा १० लाखको अक्षय कोष स्थापना गरिएको छ। 

गोलाङ घर भई हाल अमेरिकामा बस्दै आएका दिवाकर पाण्डेको परिवारले स्वर्गीय पिता हिक्मतबहादुर पाण्डेको नाममा ‘हिक्मतबहादुर पाण्डे– २०८०’ अक्षय कोष स्थापना गरेका हुन्। 

‘गाउँमा उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्था छैन। माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी पनि न्यून छन्,’ पाण्डेले भने, ‘गुणस्तरीय शिक्षाको व्यवस्था गरी गाउँमै विद्यार्थी टिकाउने उद्देश्यले विदेशमा आफूले कमाएको केही रकम छुट्याएर अक्षय कोष स्थापना गरेको हो।’

अध्ययनकै लागि गाउँका बालबालिकाहरूले घरआँगनका विद्यालय छाडेर सहर छिरेका छन्। कतिपयले पैसा अभावका कारण पढाइ छाड्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘विद्यालयको शैक्षिक गुणस्तर सुधार आवश्यक छ। 
आफ्नो जन्मथलोको विद्यालय स्थापनामा बुवाले खेल्नुभएको भूमिका अविस्मरणीय छ। आज मेरो उचाइको कारण नै बुवा हो। यो अक्षय कोष उहाँको सम्मानको लागि पनि हो।’

अहिले पाण्डे एनआरएन अमेरिकाको सहकोषाध्यक्ष हुन्। तर, अमेरिका जानुअघि उनले नेपालमा लामो समय शिक्षक पेसा अँगालेका थिए। शैक्षिक क्षेत्रमा रहेको समस्याबारे उनी जानकार पनि छन्। 

गाउँमै गुणस्तरीय शिक्षा र उच्च शिक्षा प्रदान गर्ने रहर रहेको पाण्डेले बताए। उनले भने, ‘विद्यालयमा स्थापना गरिएको अक्षय कोष सुरुवात हो। निरन्तर रूपमा शैक्षिक विकास र सुधारका लागि काम गर्नेछौँ। गाउँका भाइबहिनीहरूलाई गाउँकै घरआँगनमा उच्च शिक्षा पढाउने लक्ष्य छ।’

कोषमा जम्मा गर्ने दश लाख रकमको चेक हस्तान्तरण गर्न गोलाङ पुगेका पाण्डेसहित धर्मपत्नी इन्दिरा सिंखडा, आमा युद्धकुमारी पाण्डे, दाजु ध्रुव पाण्डे र नेपालमा शिक्षक पेसा अँगाल्दाका समकक्षी शिक्षकहरूलाई स्थानीयहरूले पञ्चेबाजासहित स्वागत गरेका थिए।

विद्यालयका शिक्षक विद्यार्थीले पनि विविध सांस्कृतिक कार्यक्रम गरी अक्षय कोषका संरक्षक पाण्डेका परिवारलाई भव्य स्वागत गरेका हुन्।

विद्यालयमा अक्षय कोष स्थापनाले गरिबी तथा जेहेनदार विद्यार्थीलाई सहयोग पुग्ने भन्दै विद्यालयका शिक्षक अभिभावकहरूले खुसी व्यक्त गरेका छन्। पैसा नभएकै कारण पढाइ छोड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीको शैक्षिक गन्तव्य सुनिश्चितता र शैक्षिक गुणस्तर सुधारमा सहयोग मिल्ने उनीहरूले बताएका छन्। 

See More On

सुझावित समाचार