१५० शिक्षकको राजीनामाले पठनपाठन ठप्प, उपचार सेवा प्रभावित

बिपी प्रतिष्ठान अस्तव्यस्त

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

रोकिएको बढुवा प्रक्रिया सञ्चालन गर्न माग राख्दै आन्दोलनरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकट गहिरिँदै गएको छ । 

प्रतिष्ठानका एक सय ५० जना चिकित्सक शिक्षकहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसमक्ष गत मंगलबार सामूहिक राजीनामापत्र बुझाएपछि प्रतिष्ठानका सम्पूर्ण सेवा थप प्रभावित बन्दै गएको छ । 

पाँच दिनयता प्रतिष्ठानमा बिरामीको उपचार सेवा प्रभावित बनेको छ भने विद्यार्थीको पठनपाठन ठप्प बनेको छ । सात महिनायता रोकिएको बढुवा प्रक्रिया सरोकारवाला निकायको सहमतिमा एक महिनाभित्र सुरु गर्ने प्रतिष्ठानसँग गत २४ भदौमा प्रतिष्ठान र आन्दोलनरत पक्षबीच सहमति भएको थियो । 

तर, महिना दिन बितिसक्दासमेत माग पूरा गर्नेतर्फ प्रतिष्ठानले चासो नदिएको भन्दै शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका एक सय ५० जना चिकित्सक प्रतिष्ठानका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सहकुलपतिसमेत स्वास्थ्यमन्त्री बस्नेतलाई भेट्न गत सोमबार काठमाडौं गएका थिए ।

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेट गरेर आन्दोलनरत चिकित्सक प्रतिष्ठान फर्किसकेका छन् । तर, माग पूरा नभएसम्म काममा नफर्कने जनाएपछि विद्यार्थीको पठनपाठन ठप्प छ भने बिरामीको उपचार सेवा प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन ठप्प बनेपछि शुक्रबार विद्यार्थीले प्रदर्शनसमेत गरेका छन् । 

विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओशान्ति रजकले प्रतिष्ठानमा पठनपाठन अवरुद्ध हुन नहुने बताए । उनले भने, ‘प्रतिष्ठानमा विभिन्न समयमा आन्दोलन मात्रै हुने र पठनपाठन अवरुद्ध हुने भइरहेकाले अब तत्काल दुवै पक्ष बसेर समस्या समाधान गर्नुपर्छ ।’

राजीनामा दिएर फर्किएका चिकित्सक एडिसनल प्रोफेसर डा. रोविन मास्केले स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको बताउँदै चाँडै टुंगो लाग्नेमा आफूहरू आशावादी रहेको बताए । 

गत मंगलबार प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै अस्पतालमा शिक्षकहरू अनुपस्थित हुँदा प्रतिष्ठानका आकस्मिक, आइसियू र अन्तरंग तथा बहिरंगका सम्पूर्ण सेवाहरू प्रभावित हुने र पूर्ण क्षमतामा अस्पतालले सेवा दिन नसक्ने जनाएको छ । 

यद्यपि, अस्पताल उपनिर्देशक डा. इन्द्र लिम्बूले रुटिनको शल्यक्रिया सेवाबाहेक अस्पतालमा अन्य सम्पूर्ण उपचार सेवाहरू सञ्चालन भइरहेको बताए ।

प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र एडिसनल प्रोफेसरहरूको सात वर्षदेखि रोकिएको आन्तरिक पदपूर्ति तथा बढुवाप्रक्रिया सात महिना अघि सुरु भएको थियो । 

तर, लोकसेवा आयोगले शिक्षक सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०६९ को प्रस्तावित मस्यौदा स्वीकृत गरी आयोगबाट मात्र पदपूर्ति प्रक्रियाअगाडि बढाउन प्रतिष्ठानलाई निर्देशन दिएपछि शिक्षकहरूले आन्दोलन गर्दै आएका छन् । 

प्रतिष्ठानमा कार्यरत एक सय ३० जना फ्याकल्टी शिक्षक र करिब एक हजार दुई सय कर्मचारीको आन्तरिक बढुवा रोकिएको छ । प्रतिष्ठानमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामीहरू उपचार सेवा लिन आउने गरेका छन् ।

सुझावित समाचार