इजरायल–हमास युद्धपछि बढ्ला त पाँच गुणा तेलको भाउ ?

सन् १९७३ को युद्धपछि विश्वभर तेलको हाहाकार मच्चियो र तेलको मूल्य प्रतिब्यारेल पाँच डलरबाट सीधै २५ डलर पुग्यो

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

६ अक्टोबर १९७३ मा अरब देशहरू मिलेर इजरायलमाथि हमला गरे । त्यतिवेला इजरायललाई बचाउन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन अगाडि बढे । उनले इजरायललाई करिब २९ करोड रूपैयाँ सहयोगको घोषणा गरे । अमेरिकाको यो निर्णयबाट दुःखी भई ओपेक देशले तेल उत्पादनमा भारी मात्रामा कटौती गरे । तेल उत्पादन कम गरेर अमेरिकालाई पाठ सिकाउने योजना साउदी अरबका राजाको नेतृत्वमा भएको थियो । 

तर, परिणाम १९७४ मा आइपुग्दा विश्वभर तेलको हाहाकार मच्चियो । तेलको मूल्य प्रतिब्यारेल पाँच डलरबाट सीधै २५ डलरमा पुग्यो । अर्थात्, पाँच गुणाले बढ्यो । र, यसको सबभन्दा ठूलो असर अमेरिका र उसका सहयोगी धनी देशलाई पर्यो । त्यहाँ आर्थिक मन्दी भयो र महँगीले आकाश छोयो । त्यसको ठीक ५० वर्षपछि फेरि एकपटक इजरायलमाथि आक्रमण भएको छ । ब्लुमबर्गका अनुसार इजरायल र हमासबीच युद्ध सुरु मात्रै भएको छ । यो अवस्थामा तेलको बजारमा कति असर पुग्छ भन्ने बताउन गाह्रो छ । यद्यपि, इजरायल र इरानको एक्सनमा धेरै चिज निर्भर गर्छन् । यसका बाबजुद पनि तेल बजारमा के असर पर्छ भन्ने अहिले चासोको विषय बनेको छ ।

अहिलेको युद्ध सन् १९७३ को जस्तो भने होइन । त्यतिवेला अरब देशले संयुक्त रूपमा हमला गरेका थिए । तर, यसपटक भने इजिप्ट, जोर्डन, सिरिया, साउदी अरबसहित बाँकी देशले आफूलाई हालसम्म युद्धमा संलग्न हुनबाट बचाएका छन् । यसरी हेर्दा पुरानै स्थिति बल्झिने सम्भावना कम देखिन्छ ।

त्यसैगरी, अहिले तेल बजार १९७३ को जस्तो अवस्थामा छैन । त्यतिवेला तेलको भाउ उच्च थियो । तर, कसैसँग पनि पर्याप्त भण्डारण थिएन । अहिले विद्युतीय सवारीसाधनका कारण पनि त्यतिवेलाभन्दा तेलको माग घटेको छ । यद्यपि, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई)सँग अतिरिक्त तेल उत्पादन क्षमता छ । कैैयौँपटक यसको प्रयोग उनीहरूले तेलको मूल्य नियन्त्रण गर्नका लागि पनि गर्छन् । यसकारण पनि अहिलेको इजरायल युद्धलाई लिएर साउदी र युएईले तत्काल यस्तो निर्णय नगर्न सक्छन् । 

अर्कातिर, ओपेक देशहरू केही डलर बढाउन सहमत भए पनि अधिक मूल्य बढाउन इच्छुक देखिएका छैनन् । त्यस्तै, साउदी शतप्रतिशतभन्दा बढी मूल्य बढाएर २०० डलर पुर्याउनुको सट्टा ८५ डलर प्रतिब्यारेलबाट बढाएर १०० डलर पुर्याउने ध्याउन्नमा छ । तर, अक्टोबर, १९७३ मा तेल उत्पादन घटाई ओपेक देशले पेट्रोलियम पदार्थको मूल्य ७० प्रतिशतले वृद्धि गरेका थिए । 

इजरायल–हमास युद्धको असर यो वर्षको अन्तिमतिर या अर्को वर्ष देखिन सक्छ । यसको अझ बढी असर त इजरायल–हमास युद्धमा इरान प्रवेश गर्यो भने देखिन्छ । सन् २०१९ मा यमनका हुती विद्रोहीले साउदीको तेल उत्पादन सुविधामाथि हमला गरेका थिए । जसमा इरानकै हात थियो ।

त्यसो त इजरायल–हमास युद्धको असर यो वर्षको अन्तिमतिर या अर्को वर्ष देखिन सक्छ । यसको अझ बढी असर त इजरायल–हमास युद्धमा इरान प्रवेश गर्यो भने देखिन्छ । सन् २०१९ मा यमनका हुती विद्रोहीले साउदीको तेल उत्पादन सुविधामाथि हमला गरेका थिए, जसमा इरानकै हात थियो । र, यसको असर वैश्विक तेल आपूर्ति शृंखलामा पर्यो । एकपटक फेरि इजरायलले अहिले भएको युद्धको दोषी इजरायललाई करार गर्यो भने अन्य संगठनमार्फत तेल सुविधामाथि हमला गराएर बजारलाई प्रभावित पार्ने कोसिस इरानले गर्नेछ । 

एक वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्धले अमेरिकी प्रतिबन्धका बाबजुद पनि इरानले विश्वभर तेल आपूर्ति गर्यो । विश्वभर तेलको मूल्य धेरै नबढोस् भन्नका लागि अमेरिकाले यसलाई थाहा पाइपाईकन पनि थाहा नपाएझैँ गरिरह्यो । परिणाम, इरानको तेल उत्पादन दैनिक सात लाख ब्यारेलले बढ्यो । फेरि एकपटक अमेरिकाले इरानको तेल खरिदबिक्रीमा रोक लगाएको खण्डमा तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुग्न सक्ने विश्लेषक बताउँछन् । 

जारी इजरायल–हमास युद्धले कथम् मध्यपूर्वमा तेल संकट भएमा यसको फाइदा रुसलाई हुन्छ । साथै, अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध लगाएमा अन्ततः यसको फाइदा पनि रुसलाई नै हुन्छ । रुस फेरि एकपटक ओपेक–प्लस देशसँग मिलेर तेलको भाउ बढाएर नाफा कमाउन कोसिस गर्नेछ । तर, अमेरिका चाहँदैन कि रुसले फाइदा लिओस् । यसकारण इरानी तेलमाथि अमेरिका मौन छ, जसले गर्दा रुसलाई सर्वाधिक घाटा छ । यसलाई यसरी बुझौँ, इजरायल युद्धलाई लिएर इरानमाथि कारबाही थाल्दा तेलको मूल्य बढ्ने निश्चित छ । 

अमेरिकाको मध्यस्थतामा साउदी र इजरायलबीच ठूलो सम्झौता हुने बताइएको थियो । उक्त सम्झौतापछि साउदीले इजरायललाई देशका रूपमा मान्यता दिनेवाला थियो । तर, त्यसअघि नै हमासको आक्रमण भयो । भलै साउदी हमास युद्धले दुःखी छ, तर साउदी जनताको झुकाव १९७३ को प्यालेस्टाइनी युद्धतिर छ । यस्तो स्थितिमा घरेलु राजनीतिका कारण साउदीले कुनै एक्सन लिनासाथ पनि तेलको मूल्यमा असर परी प्रतिब्यारेल १०० डलर नाघ्न सक्छ ।

समग्रमा भन्नुपर्दा १९७३ कै स्थिति अहिले बन्दैन । यसको कारण हो, अमेरिकासँग पर्याप्त तेल भण्डारण छ । उसले भण्डारण गरिएको तेल बजारमा छोड्न थाल्छ । अनि त प्रतिब्यारेल केही डलर बढे पनि पाँच गुणा महँगोचाहिँ हुँदैन । तर, के बिर्सन हुँदैन भने यसबीचमा इरानले कुनै अप्रिय निर्णय गर्यो भने त्यसको सोझो असर तेल बजारमा पर्छ । रुस–युक्रेन युद्धपछि अमेरिकाको तेल भण्डारण चार दशकयताकै निम्नस्तरमा पुगेको छ । तैपनि, यस्तो संकटबाट बच्न अमेरिकासँग पर्याप्त भण्डारण छ । त्यसैले पनि तेलको भाउ अकासै छुने गरी बढ्दैन । 

सुझावित समाचार