एमाले सुदूरपश्चिम पदाधिकारीमा सहमति

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण
एमाले सुदूरपश्चिम पदाधिकारीमा सहमति

प्रदेश अध्यक्ष अछामका कृष्णप्रसाद जैसी

एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षसहित पदाधिकारीमा सहमति जुटेको छ । प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन् । त्यस्तै उपाध्यक्ष, सचिव र दुईजना उपसचिवमा पनि सहमति भएको छ । अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी सर्वसम्मत भएका हुन् । यसअघि उनी प्रदेश सचिवालय सदस्य थिए । 

उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही बुधबार नै निर्विरोध भइसकेका थिए । उपाध्यक्षका उम्मेदवार हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले मंगलबार नै उम्मेदवारी फिर्ता लिएका थिए । 

अध्यक्षमा भीम रावल पक्षका उम्मेदवार साउदको टिमलाई उपसचिव दिन संस्थापन पक्षका नेताहरू तयार भएपछि पाँचै पदाधिकारीमा सहमति भएको हो । सचिवमा उम्मेदवारी दिएका राजेश खाती, रतनबहादुर रेग्मी र जीवन बमले उम्मेदवारी फिर्ता लिएपछि कैलालीका रणबहादुर चन्द निर्विरोध भएका छन् । उपसचिव (खुला)मा कञ्चनपुरका नरबहादुर विक र महिलामा भागरथी विष्ट निर्विरोध भएको निर्वाचन कमिटीले जनाएको छ ।

दुवैजना अध्यक्षमा उम्मेदवारी फिर्ता लिएका साउद प्यानलका हुन् । खुला उपसचिवमा अशोकुमार चन्द, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट, सुरेन्द्रबहादुर पाल र आनन्दलाल विश्वकर्माले उम्मेदवारी फिर्ता लिए । त्यस्तै, उपसचिव महिलामा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिए ।

सुझावित समाचार