बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको ७०औँ वार्षिक साधारणसभा तथा २५औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा तीनवर्षे कार्यकालका लागि अर्याल विजयी भएका हुन् । अर्यालले अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मत अन्तरले पराजित गरेका छन् ।
अध्यक्षमा निर्वाचित अर्यालले सात सय ७६ मत र अर्का प्रत्याशी श्रेष्ठले ६ सय ८९ मत प्राप्त गरेकोे प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । संघको निर्वाचनमा एक हजार सात सय ७८ सदस्य मतदाता रहेकोमा एक हजार पाँच सय ६ मत खसेको थियो ।
संघको वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अर्याल र श्रेष्ठको दुई समूह चुनावी मैदानमा उत्रिएकामा अधिकांश पदमा अर्याल समूहका उम्मेदवार विजयी भएका छन् । उद्योग उपाध्यक्षमा सात सय ७८ मतसहित सुरज भट्टराई निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६ सय ७२ मत प्राप्त गरेका छन् । महासचिवमा सात सय ६० मतसहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा आठ सय नौ मतसहित वसन्तप्रसाद ढकाल, सचिवमा सात सय २३ मतसहित प्रतीक पोखरेल र सहकोषाध्यक्षमा आठ सय ३० मतसहित धनकुमारी खनाल (सविता) निर्वाचित भएकी छिन् । पदाधिकारीमा सचिवबाहेक सबै अर्याल प्यानलबाट विजयी भएका छन् । त्यसैगरी, एक एसोसिएट सदस्यमा सात सय ५१ मतसहित बालकृष्ण पौडेल निर्वाचित भएका छन् । चार उद्योग सदस्यमा
दीपकप्रसाद चापागाईं, निर्मित कसजू, सुनीता शर्मा बञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टीकाराम बञ्जाडे निर्वाचित भएका छन् ।त्यस्तै, सात खुला सदस्य पदमा विष्णु (कमला) घिमिरे पन्त, विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्य पदमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित भएका छन् ।