चार महिनापछि नेप्से पुनः १८ सय विन्दुमा

राष्ट्र बैैंकले सेयर कर्जा संशोधन गरेको तीन दिनयता नेप्से ६७ दशमलव ३१ अंकले घट्यो, मंगलबार कारोबारमा आएका १३ वटै समूहका सूचकमा गिरावट

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

चार महिनापछि सेयर बजार पुनः १८ सय विन्दुमा झरेको छ । मंगलबार नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ विन्दुमा आइपुगेको हो ।यसअघि १८ जेठमा नेप्से सूचकांक एक हजार आठ सय ६६ दशमलव ३४ विन्दुमा थियो । सेयर कर्जामा लगाउँदै आएको १२ करोड रुपैयाँसम्मको सीमालाई हटाउनुपर्ने मागलाई राष्ट्र बैंकले गत बिहीबार एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत लगानीकर्ताको हकमा १५ करोड रुपैयाँ र संस्थागत लगानीकर्ताको हकमा २० करोड रुपैयाँ हुने गरी सीमा बढाएको थियो ।

सेयर लगानीकर्ताको मागलाई केही हदसम्म सम्बोधन गर्ने गरी राष्ट्र बैंकले कर्जाको सीमा बढाउँदा पनि बजार भने निरन्तर घटेको छ । राष्ट्र बैंकले सेयर कर्जा सीमा बढाउने गरी निर्देशन गरेयताको तीन दिनमा ६७ दशमलव ३१ अंकले नेप्से घटिसकेको छ । 

कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सर्वाधिक घट्नेमा जलविद्युत् समूहको १ दशमलव ७९ प्रतिशतले घटेको छ भने नीर्जीवन बिमा समूह, होटेल तथा पर्यटन समूह, फाइनान्स समूह र विकास बैंक समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

वहारीहाइड्रो पावर कम्पनी र रवा इनर्जी डेभलपमेन्ट कम्पनीले पाँच दशमलव ४८ प्रतिशतदेखि सात दशमलव ६४ प्रतिशतसम्मले घटेको छ । त्यस्तै, घटेको बजारमा पनि अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको ५ दशमलव ८६ प्रतिशतले बढेको छ भने इन्फिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ दशमलव १९ प्रतिशतले बढेको छ । 

मंगलबार ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक सेयर किनबेच सानिमा जेआइसी इन्स्योरेन्सको २० करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो ठूलो कारोबार नबिल बैंकको तीन करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

चिरख्वा हाइड्रोपावरको आइपिओ खुला
चिरख्वा हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण निष्कासन (आइपिओ) खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि आइपिओ निष्कासन गरेपश्चात् आठ लाख ५९ हजार तीन सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा आइपिओ जारी गरेको छ ।

आइपिओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले चिरख्खा हाइड्रोपावरको वित्तीय दायित्व बहन क्षमता औसत जोखिममा रहेको औँल्याएको छ । इक्राले डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले कम्पनीलाई १ फागुन ०७९ मा क्रेडिट रेटिङसम्बन्धी रेटिङ ग्रेड प्रदान गरेको थियो । सो रेटिङको अवधि एक वर्षसम्म रहनेछ ।  

कम्पनीको भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं १ स्थित ४.७ मेगावाटको चिरख्वा खोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा रहेको छ । सो आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद–बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग १२ असार ०७३ मा सम्झौता भएको थियो । उक्त सम्झौताको समयावधि व्यापारिक उत्पादन सुरु हुने मितिले ३५ वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन कम छ, सो समयसम्म कायम रहने व्यवस्था छ । सो आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार चार सय २६ रुपैयाँ रहेको छ । आयोजनाको कार्यप्रगति ९८ प्रतिशत सम्पन्न भइसकेको छ । 

See More On

सुझावित समाचार