बाढीले तीन वर्षअघि भत्काएको कजवे अझै बनेन

जोखिम मोलेरै यात्रा गर्छन् नागरिक

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

तीन वर्षअघि वाणगंगा नदीमा आएको बाढीले भत्काएको घेरवा बनगाई–कोपवा जोड्ने कजवे अझै नबन्दा घेरवा–बनगाई हुँदै सदरमुकाम तौलिहवा आवतजावत गर्ने नागरिकले समस्या भोग्दै आएका छन्।

छिमेकी जिल्ला अर्घाखाँचीसम्म आवतजावत गर्न प्रयोग हुने नदीमा कजवे तथा पुल निर्माणमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि स्थानीय सरकारले चासो देखाएको छैन। यसले स्थानीयलाई बर्खायाममा झनै समस्या हुने गरेको छ।

तीन वर्षअघि वाणगंगा नदीमा आएको बाढीले बनगाई–कोपवा जोड्ने कजवे भत्काएको थियो। वाणगंगा नगरपालिकाले मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई–कोपवा कजवेनजिकैबाट नदीजन्य पदार्थ निकाल्न ठेक्का दिँदा अनियन्त्रित उत्खननले कजवे भत्किएको वाणगंगा– ५ मनहरापुरका स्थानीय लोकबहादुर थापा बताउँछन्। उक्त कजवे तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको थियो।

प्रदेश सरकारको नदीजन्य कार्यविधिअनुसार पुल र कजवेजस्ता संरचनाबाट पाँच सय मिटरमाथि र तल एक किलोमिटरभित्र ठेक्का लगाउन पाइँदैन। तर, सो मापदण्डको धज्जी उडाउँदै नगरपालिकाले मनपरी ठेक्का लगाएको थियो। नदीले कजवे बगाउँदा अहिले सो क्षेत्रबाट आवतजावत ठप्प भएको छ।

आवतजावत बन्द हुँदा किसानका उत्पादन बजार पुर्याउन र दैनिक उपभोग्य सामान ल्याउनसमेत असहज भएको स्थानीय मानबहादुर कार्कीे बताउँछन्।

स्थानीयवासीहरूले कजवे निर्माणबारे कुरा उठाउँदा आफ्नो स्रोतबाट सो कार्य सम्भव नरहेको भन्दै नगरपालिका पन्छिने गरेको छ। पुल बनाउन संघ सरकारसँग माग गरिएको नगरपालिकाको जवाफ छ।

सुझावित समाचार