उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

नजिकिँदो चाडपर्वमा उपत्यकाबाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुन्धारा, नागढुंगा, कलंकी, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगातीलगायतका स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।

यातायात व्यवस्था विभागसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीहरूको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको हो,’ उनले भने ।

यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनेछन् ।

सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्या ई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष चेकजाँचको व्यवस्था मिलाई यात्रुलाई पर्न सक्ने विभिन्न समस्या समाधान गरिने एसएसपी भट्टले बताए । 

सुझावित समाचार