प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बाेलाएका छन् । 

सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ।

मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन् । 

प्रधानमन्त्रीले इजरायलमा हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरेका हुन् ।  सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए । 

इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीको अवस्थाबारे यकिन गर्न र उनीहरूको उद्धार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्रसचिव र सुरक्षा अंगका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए । सो बैठकले माननीय परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अंगका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्यापिड एक्सन टिम गठन गर्यो। उक्त टिमको बैठकले उद्धार र नेपाली फिर्तीसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।

सुझावित समाचार