सशस्त्र प्रहरीको कार्यसम्पादन उच्चस्तरको : प्रधानमन्त्री

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

 सीमित स्रोत–साधनको बाबजुद पनि उच्चस्तरको कार्यसम्पादन गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त कार्यक्रममा उनले आन्तरिक सुरक्षा, विपत् व्यवस्थापन, महामारी नियन्त्रण र न्यूनीकरण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाको मूलभूत पक्षमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताए । प्रचण्डले तालिममा प्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुका साथै कवाजतर्फ उत्कृष्ट ज्ञानचन्द्र पराजुली, शारीरिक सहिष्णुतातर्फ पुष्करबहादुर बम र चाँदमारीतर्फ एजन खड्कालाई पुरस्कार प्रदान गरे । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह–अवरोहलाई पार गर्दै कार्यक्षेत्रमा आइपरेका सुरक्षा चुनौतीलाई परास्त गर्दै राज्य र जनचाहनाअनुरूपको सेवा र सुरक्षामा दर्विलो सुरक्षा निकायका रूपमा आफूलाई परिचित गराउँदै आएको बताए । सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउट पोस्टहरू (बिओपी)को स्थापना तथा मौजुदा रहेका बिओपीहरूको समेत स्तर वृद्धि र प्रविधिमैत्री बनाउँदै लगिने उनको भनाइ थियो । 

सुझावित समाचार