अर्थतन्त्रको हितमा दिएका सुझाव पनि कार्यान्वयन हुँदैनन् : ढकाल

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिने सुझाव निजी क्षेत्रको मात्र हितमा नभएर समग्र अर्थतन्त्रको हितमा रहने गरेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७०औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले निजी क्षेत्रले समग्र व्यवसाय, अर्थतन्त्र र आमजनतालाई हित हुने गरी अनुभव र अनुसन्धानमा आधारित भएर सरकार तथा यसका निकायलाई सुझाव दिँदै आएको बताएका छन् । 

‘तर, सरकार र त्यसका निकायले ती सुझावलाई निजी क्षेत्रको व्यक्तिगत सुझावजस्तै ठान्ने गरेको र उपेक्षा गरी समाधानका लागि आवश्यक कदम नचालेको अनुभव निजी क्षेत्रले गरेको छ,’ उनले भने, ‘उत्पादन, रोजगारी, सरकारको राजस्वका साथै समाजका कतिपय कल्याणकारी कार्यसमेत निजी क्षेत्रले सञ्चालन गरेका व्यापार–व्यवसायकै सफलतामा निर्भर रहने भएकाले सरकारले निजी क्षेत्रका सुझाव तथा मागहरू गम्भीर रूपमा समीक्षा गरेर सम्बोधन गर्नुपर्छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रका अन्य सरोकारवाला संस्थाहरूले बजेट तथा मौद्रिक नीतिमा व्यावहारिक सुझाव दिँदै आएका छन् । प्रत्येकपटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीलगायत विशिष्ट व्यक्तित्वसँग भेट गरी अर्थतन्त्रबारे जानकारी गराउने गरेका छन् । अध्यक्ष ढकालले भने, ‘उहाँहरूलाई राष्ट्रिय अर्थतन्त्र, उद्योग–व्यवसाय तथा तिनका चुनौती र विकासका लागि चाल्नुपर्ने कदमका लागि निजी क्षेत्रले व्यावहारिक सुझाव र संकटबाट जोगिन वा पार पाउनका लागि चाल्नुपर्ने समाधानका उपायसमेत दिँदै आएको छ । तर, सरकार तथा नियामक निकायले हाम्रा मागलाई गम्भीर रूपमा नलिँदा अर्थतन्त्र अहिलेको अवस्थामा आइपुग्यो ।’

अध्यक्ष ढकालले समग्र अर्थतन्त्र कठिन मोडमा आइपुगेको औँल्याउँदै अब सरकार र निजी क्षेत्र एउटै मञ्चमा उभिनु आवश्यक रहेकाले बताए । निजी क्षेत्रको तर्फबाट महासंघले यही असोज २५ गते बृहत् राष्ट्रिय विमर्शको आयोजना गर्न लागेको पनि उनले जानकारी गराए । अर्थतन्त्रका सबै सरोकारवाला एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाई संकटको समाधान नहुने महासंघले ठहर गरेको छ ।

सुझावित समाचार