हुम्लामा कुहिएको चामल बिक्री

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको चामल बिक्री गरेको छ । काठमाडौंदेखि केरुङ नाका हुँदै हुम्लाको हिल्सा नाकाबाट नाम्खा गाउँपालिका– ५ मुचु, सब्बामा पुर्‍याएर ५० परिवारलाई बिक्री गरिएको चामल कुहिएको पाइएको हो । खाद्यले यहाँ सोमबार र मंगलबार एक सय २५ क्विन्टल चामल बिक्री गरेको थियो । 

नाम्खा– ५ का सम्बाका रिन्जिन तामाङले आफूले चार बोरा चामल किनेकामा दुई बोरा कुहिएको पाइएको बताए । ‘चामल भिजेर डल्लैडल्ला परेको छ, खानै नमिल्ने गरी कुहिएको छ,’ उनले भने, ‘दुई बोरा भने राम्रो छ ।’ स्थानीय आङमु लामाले पनि तीन बोरा चामल कुहिएको फेला परेको बताइन् ।

कुहिएर डल्लैडल्ला परेको चामल बोराबाट निकालेर घाममा सुकाउँदै स्थानीय महिला

खाद्यले २५ किलोको एक बोरा चामल अनुदानमा दुई हजार तीन सय ७५ रुपैयाँमा बिक्री गरेको थियो । ‘पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको छ । अब के गर्ने ?’ टुन्डुप तामाङले भने । खाद्यबाट किनिएको चामल कुहिएको पाइएपछि स्थानीयले बोरा खोलेर घाममा सुकाउने गरेको स्थानीय लोप्चाङ तामाङले बताए । ‘डल्लैडल्ला परेको चालम घाममा सुकाउँदा पनि खान नमिल्ने छ,’ उनले भने ।

ठेकेदार भन्छन्– ढुवानीका क्रममा भिज्दा समस्या भएको हो 
खाद्य कम्पनीले हुम्लामा अनुदानको खाद्यान्न ढुवानीको जिम्मा खहरे–डिलाइट निर्माण जेभीलाई दिएको थियो । खहरे–डिलाइटका प्रोपाइटर पासाङ शेर्पाले ढुवानीका क्रममा हिल्सा नाकामा दुई दिन पानीमा भिजेकाले चामलमा समस्या आएको बताए । ‘चामल राख्ने गोदाम थिएन । गेटनजिकै त्रिपालले छोपेर राखेको थियौँ,’ उनले भने, ‘जमिननिरको भागमा पानी पसेर भिजेको हो । बिग्रेको चामल फिर्ता लिएर राम्रो दिन्छौँ ।’ खहरे–डिलाइटले नाम्खाका लागि हजार क्विन्टल र सदरमुकाम सिमकोटस्थित खाद्यको शाखाका लागि तीन हजार क्विन्टल गरी चार हजार क्विन्टल चामल ढुवानीको ठेक्का पाएको थियो । काठमाडौंबाट केरुङ हुँदै नाम्खाको केन्द्रसम्म प्रतिकेजी ४८ रुपैयाँ र सिमकोटसम्म प्रतिकेजी ८७ रुपैयाँ ढुवानी भाडा लागेको उनले बताए । खाद्यको सिमकोट शाखाका सुब्बा नवीन आचार्यले पनि हिल्सामा गोदाम नहुँदा समस्या भएको बताए । ‘चामल ठेकेदारले बिक्री गरेको हो, हामीले होइन । अब ठेकेदारले बिग्रेको चामल फिर्ता गरेर नयाँ दिनुपर्छ,’ उनले भने ।

See More On

सुझावित समाचार