नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात गर्न पाउने परिमाणको सीमा बढाएको छ । दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । बैंकले बुधबार परिपत्र जारी गर्दै यस्तो निर्णय कार्यान्वयनमा ल्याएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार केन्द्रीय बैंकले सुन आयातको सीमा बढाएको हो । तर, बजारमा माग कमजोर भएको समयमा सुन आयातको सीमा बढाउनुको औचित्य नभएको सुन व्यवसायीको भनाइ छ । दसैंतिहार सुनको माग बढ्ने प्रमुख सिजन भए पनि यसपाली सुन बजार सुनसान रहेको व्यवसायीको गुनासो छ ।
आधारभूत आवश्यकता पूर्ति भएपछि मानिसको चासो सुन र घरजग्गामा लगानी गर्न चाहना हुन्छ । तर, अहिले अरू व्यवसायमा नै मन्दी चलिरहेको समयमा सुनको माग बढ्न नसक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनले भने, ‘बजारमा मौज्दात सुन नै बिक्ने अवस्था छैन । अहिलेको समयमा सुन आयातको सीमा बढाउनुपर्ने आवश्यकता थिएन । तर, यति भएपछि बजारमा सुनको माग बढिहाल्यो भने पनि अभाव हुने अवस्था रहँदैन ।’
सामान्य अवस्थामा दसैँ–तिहारमा सुनको दैनिक माग ४० किलोसम्म हुने गरेको उनको अनुभव छ । जसलाई धान्न सरकारले दिएको सीमा पर्याप्त नहुने अवस्था थियो । तर, अहिले त्यहीँ १० किलोको कोटामा पनि सुनको माग बढ्न नसकेको उनले बताए ।
सरकारले विगतमा विदेशी मुद्रा सञ्चिति खिइँदै गइरहेको समयमा सुन आयातमा कडाइ गर्दै दैनिक १० किलोको सीमा लगाएको थियो । अहिले विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकाले सीमा बढाएको केन्द्रीय बैंकको भनाइ छ । दसैँका लागि बजारमा माग बढ्ने समयको एक साता बितिसकेको र दुई साता बाँकी रहेको शाक्यको भनाइ छ ।
तोलाको लाख नाघेपछि माग घट्यो
सुनको मूल्यमा प्रतितोला एक लाख नाघेपछि नेपाली उपभोक्ताले सुन खरिदमा रुचि देखाउन छोडेको व्यवसायी शाक्यले बताए । महासंघका अनुसार हाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । असोज लागेयता सुनको मूल्यमा एक हजार पाँच सय रुपैयाँले गिरावट आए पनि मूल्य एक लाखभन्दा माथि नै छ । गत साल पुस लागेपछि सुनको भाउ एक लाख रुपैयाँ नाघेको थियो । त्यसयता सुनको मूल्य यो सीमाभन्दा तल गएको छैन ।
सुन आयातमा परिमाणात्मक सीमा बढाए पनि सुनको आयातका केही प्रावधान भने कसिएको छ । एउटा महिनामा सुन आयात नभएको साटोमा अर्काे महिनामा सुन आयात गर्न नपाइने भएको छ । जस्तै, असोजमा कुनै दिन सुन आयात नभएमा सोही परिमाणभित्र रहेर अर्काे महिना कात्तिकमा सुन आयात गर्न नपाइने उल्लेख छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा पाँच सय किलो सुन आयात भएको छ । जसबापत देशबाट चार अर्ब १२ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।