माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मंगलबार, ९ असोज, २०८०
डिजिटल संस्करण

माल्दिभ्सविरुद्ध सहज जित निकाल्दै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा तनावपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ४–१ अन्तरले पराजित गरेको हो । नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरेका थिए । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन् । तनावपूर्ण खेलमा दुवै टोलीले रातो कार्डको सामना गर्दा १० खेलाडीमा सीमित बनेका थिए ।

 खेलको ३४औँ मिनेटमा एक–अर्कालाई हात लगाएपछि नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद इयान हसनलाई भुटानी रेफ्री छिरिङ पेमाले रातो कार्ड देखाएका थिए । समूह ‘ए’मा चार अंक जोडेको पाकिस्तान शीर्ष स्थान र तीन अंकको नेपाल उपविजेता बन्यो । एक अंक जोडेको माल्दिभ्स समूह चरणबाटै बाहिरियो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो । 

नेपालका प्रशिक्षक सुनील श्रेष्ठले पहिलो खेलमा पराजित हुनुका बाबजुद आशाअनुसार दोस्रो खेलमा जित निकाल्न सफल भएको बताए । ‘माल्दिभ्सविरुद्ध जसरी हुन्छ जित्नुपर्ने स्थिति थियो । खेलाडीले मिहिनेत गरे । नतिजा पनि आयो,’ 
श्रेष्ठले भने । 

फाइनल प्रवेशका लागि भारतसँग खेल्ने
समान दुईपटकका च्याम्पियन नेपाल र भारतले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । भारत समूह ‘बी’को विजेता र नेपाल समूह ‘ए’को उपविजेता बनेको छ । सेमिफाइनल खेल बुधबार हुनेछन् । अर्काे खेलमा पाकिस्तान र भुटान खेल्नेछन् । प्रशिक्षक श्रेष्ठले भारतको चुनौती सामना गर्न तयार भएको बताएका छन् । ‘भारत बलियो टोली हो । तर, हामी पनि नराम्रो छैनौँ । आगामी खेलमा झनै राम्रो प्रदर्शन गर्नेछौँ,’ श्रेष्ठले भने । आज नै भएको खेलमा भारतले भुटानलाई २–१ ले हराउँदै विजेता बनेको हो । पराजित भुटान एक खेलअघि नै अन्तिम चारमा प्रवेश गरेको थियो । भारतको ६ र भुटानको तीन अंक रह्यो । दुवै खेलमा पराजित बंगलादेश बाहिरिएको छ । 


पहिलो खेलमा पाकिस्तानसँग पराजित हुँदा निकै दबाबमा आएको नेपाल माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश, फाइनल पुग्न भारतसँग खेल्ने
 

समीरको दुई गोल 
प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा नेपालका लागि समीर तामाङले दुई गोल गरेका थिए । प्रशान्त लक्षम र नीराजन धामीले समान एक गोल गरेका हुन् । माल्दिभ्सविरुद्ध हार या बराबरी अवस्थामा नेपाल प्रतियोगिताबाट बाहिरिने अवस्थामा थियो । तर, दबाबका बीच नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको १७औँ मिनेटमा प्रशान्तले पहिलो गोल गरे ।

माल्दिभ्सका रक्षकले राम्ररी क्लियर गर्न नसकेको बललाई ३० यार्डमा नियन्त्रण गर्दै प्रशान्तले गोल गरेका थिए । यू–१६ टोलीका कप्तान प्रशान्तको लामो सट पहिलो बारमा लाग्दै जाली चुमेको थियो । ३०औँ मिनेटमा नेपालले दोस्रो गोल ग¥यो । नीराजन धामीले मध्यभागबाट निकालेको थ्रु बललाई समीरले अगाडि बढाउँदै सहज गोल गरेका हुन् । ५७औँ मिनेटमा माल्दिभ्सका अदाम लयान रासिदले गोल गरे । नेपाली ६ खेलाडीले अफसाइट माग गरिरहँदा उनले गोल गरेका हुन् । ८७औँ मिनेटमा नीराजनले तेस्रो गोल गरे । प्रशान्तले मिलाएको बललाई निराजनले गोल लाइनबाट जाली चुमाए । खेलको इन्जुरी समयमा दीपक थापामगरले गरेको क्रसमा समीरले हेड गोल गर्दै सहज जित दिलाएका हुन् । 

भुटानविरुद्ध भारतको कठिन जित
भुटानमाथि २–१ को कठिन जित निकाल्दै भारतले आफ्नो अपराजित यात्रा कायम राखेको छ । प्रतियोगितामा भारत मात्रै अपराजित छ । भारतको जितमा ग्वग्वम्सर गोयारी र रिकी मितेई हाओबमले गोल गरे । भुटानका पेन्जोर ग्याल्सेनले गोल गरेका हुन् । खेलमा सुरुआती अग्रता भुटानले बनाएको थियो । ग्याल्सेनले २१औँ मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । गोयारीले ३७औँ मिनेटमा गोल गर्दै भारतलाई खेलमा फर्काए । ६५औँ मिनेटमा रिकीले भारतका लागि विजयी गोल गरेका हुन् । 

सुझावित समाचार