आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने

आइतबार, ७ असोज, २०८०
डिजिटल संस्करण

रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ।

विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न  आइएमई पहिलो रेमिट्यान्स कम्पनी बनेको छ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए। कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागिसमेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलको भनाइ छ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गरी सुविधामा सहभागी हुन सक्ने व्यवस्था मिलाएको थियो।

सुझावित समाचार