धार्मिक सदभावका लागि गृह मन्त्रालयमा छलफल, धार्मिक अगुवाहरूले जारी गरे संयुक्त अपिल

शुक्रबार, ५ असोज, २०८०
डिजिटल संस्करण

पछिल्लो समय देशका केही स्थानमा धार्मिक सदभाव खलबल्याउने छिटफुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् ।

त्यसक्रममा उनले विश्वकै मौलिक धार्मिक सहिष्णुता भएको नेपालमा निहित उद्देश्यका कतिपयले धार्मिक उद्दण्डता देखाएर परिस्थिति भड्काउन खोजेको हुन सक्ने, तर त्यसको प्रशासनिकभन्दा पनि समुदायगत समाधान दीर्घकालीन र प्रभावकारी हुने आफ्नो मान्यता रहेको बताए । 

मुलुकको एकता र सार्वभौमिकताका लागि धार्मिक एवं सामुदायिक एकता अपरिहार्य भएको र अगुवाको त्यस पहलले समुदायमा सचेतता फैलिने विश्वाससमेत उनले व्यक्त गरे ।

उपस्थित हिन्दू, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमुखहरूले धार्मिक सदभावका लागि संयुक्त अपिल जारी गरेका छन् । गृहमन्त्री श्रेष्ठसँगको छलफललगत्तै अपिल जारी भएको हो । 

अपिलमा भनिएको छ, ‘नेपालको इतिहास, परम्परा र विगतदेखि नै एक–आपसमा मिलिजुली बस्ने सदभावपूर्ण समाजलाई बिथोल्ने गरी धर्म तथा सम्प्रदायका नाममा हुने गरेका असंवैधानिक तथा गैरकानुनी क्रियाकलापप्रति हाम्रो गम्भीर असहमति रहेको छ । यस प्रकारका कुनै पनि असंवैधानिक तथा गैरकानुनी क्रियाकलापमा कोही पनि जान–अञ्जानमा सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सदभाव प्रवर्द्धन गर्न क्रियाशील रहन सबैमा आह्वान गर्दछौँ।’

धार्मिक अगुवाहरूले विगत केही दिनयता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक–अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधिहरू गर्ने मात्र नभई कतिपय ठाउँमा उच्छृंखल तथा अराजक रूपमा प्रस्तुत भई फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुर्याउने गतिविधि देखापरेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘नेपाल एक सार्वभौमसत्तासम्पन्न बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भएको व्यहोरा हामी सबैमा अवगतै छ,’ अपिलमा भनिएको छ, ‘कुनै पनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिंगको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सदभाव कायम गर्नु, अर्को धर्म–सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनै पनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्नु हाम्रो धार्मिक संस्कारको मूल आधार विगतदेखि रहिआएको छ ।’ 

अपिलमा विश्व हिन्दू महासंघ राष्ट्रिय समिति, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति संगठन, हिन्दू जागरण नेपाल, विश्व हिन्दू परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासंघ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज, नेपाल परम्परागत बौद्ध धर्म संघका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् । 

यस्तै, अखिल नेपाल भिक्षु महासंघ, इस्लामी संघ नेपाल, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम इत्तेहाद संगठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा–ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासंघ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेसनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेसनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक संघ र नेपाल वाइबल सोसाइटीका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सुझावित समाचार