ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेटकन २०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षाफर्म थ्रेटनिक्सले २५–२७ भदौेसम्म गरेको उक्त कार्यक्रममा ह्याकरसम्बन्धी वर्कसप सम्मेलन तथा विभिन्न कार्यक्रम भएका थिए । जसमध्ये ‘क्याम्चर द फ्ल्याग’ (सिटिएफ) प्रतियोगिता पनि एक हो ।
उक्त प्रतियोगितामा विभिन्न कलेज तथा आइटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कुल ३८ समूहको सहभागी रहेको थियो । जसमध्ये उत्कृष्ट पाँच समूह (पहिलोदेखि पाँचाैँ)मा सफ्टवेरिका कलेजका विद्यार्थी परेका हुन् । प्रथम हुने समूहले १० हजार रुपैयाँ नगद पुरस्कार र १६ सय डलर (करिब दुई लाख १४ हजार रुपैयाँ)बराबरको ओएससिपी प्रमाणपत्र (पिइएन दुई सय कोर्स, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गर्न सफल भएका छन् ।
दोस्रो हुने समूहले साढे सात हजार रुपैयाँ नगदसहित दुई सय तीन डलर (करिब २७ हजार)बराबरको प्रतिष्ठित ह्याक दी बक्स (एचटिबी)को एक वर्षसम्म भिआइपी पहुँच र ६ महिनाका लागि एक सय ६८ डलर (करिब २२ हजार रुपैयाँ)बराबरका दुईवटा भिआइपी सब्सक्रिप्सन हात पारे । उसैगरी, तेस्रो हुने समूहले पाँच हजार नगद पाए । साथै, ह्याक दी बक्सको एक वर्षसम्म भिआइपी पहुँच र ६ महिनाका लागि ८४ डलर (करिब ११ हजार रुपैयाँ)बराबरको एउटा भिआइपी सब्सक्रिप्सन पाएका हुन् ।
वार्षिक रूपमा आयोजना हुने यो कार्यक्रम साइबर सुरक्षा र ह्याकिङमा रुचि राख्नेहरूको रुचिको केन्द्र बनेको बताइएको छ । नेपालमा साइबर सुरक्षासम्बन्धी यस्ता प्रतियोगिता आयोजना गर्नाले युवालाई यस क्षेत्रमा आउन र विशेषज्ञता हासिल गर्न सहयोग पुग्ने र उनीहरूलाई समस्या समाधान गर्ने सीप सिकाउने, साइबर सुरक्षासम्बन्धी बुझाइ विकास गर्ने, साइबर सुरक्षा चुनौतीका लागि तयारी गराउने बताइएको छ ।