यो गर्मीयामको एउटा गज्जबको ब्लकबस्टर फिल्म ’ओपेनहाइमर‘ले स्टारवारकै झझल्को दिन्छ । कथानकमा, एउटा दुष्ट साम्राज्यले मानवजातिलाई अधीनमा राख्न दुष्ट शक्ति प्रयोग गर्ने योजना बनाउँछ । सौभाग्यवश, असल शक्तिले त्यस दुष्ट शक्तिले भन्दा पहिले नै उक्त प्रविधिमाथि महारथ हासिल गर्छ र विजय सुनिश्चित गर्छ । तर, यस्तो प्रयास अत्यन्तै महँगो हुन्छ, आवश्यक स्रोतसाधन परिचालनका लागि निकै ठूलो लगानी र संगठनात्मक कौशल आवश्यक पर्न जान्छ । अर्काे शब्दमा भन्दा, यसका लागि राजनीति चाहिन्छ ।
दोस्रो विश्वयुद्धकालीन म्यानहटन प्रोजेक्टको निर्देशक क्रिस्टोफर नोलनले गरेको चित्रणले वैज्ञानिक, नीति–निर्माता र राजनीतिज्ञहरू साझा लक्ष्यको खोजीमा एकजुट भएको एउटा अद्वितीय ऐतिहासिक क्षणलाई प्रस्तुत गर्छ । अल्बर्ट आइन्स्टाइनले तत्कालीन अमेरिकी राष्ट्रपति फ्रैंकलिन डेलानो रुजवेल्टलाई नाजी जर्मनीले एउटा नयाँ र असाध्यै शक्तिशाली आणविक हतियारमाथि काम गरिरहेको जानकारी दिन्छन् । प्रतिक्रियामा रुजवेल्टले युरोपको फासीवादी शासनबाट पलायन भएर आएका युरोपेली शरणार्थीहरूको बहुलता रहेको अत्यन्त प्रतिभाशाली वैज्ञानिकहरूको टोलीको नेतृत्व रोबोट ओपेनहाइमरलाई सुम्पिन्छन्, लेफ्टिनेन्ट जनरल लेस्ली ग्रोभ्सलाई सो परियोजनालाई सघाउने सैन्य नेतृत्वमा नियुक्त गर्छन् ।
पृष्ठभूमि र मूल्य–मान्यतामा भिन्नताका बाबजुद, ओपेनहाइमर र उनका वैज्ञानिकले ग्रोभ्स र उनका सैनिकहरूसँग एउटा साझा उद्देश्य पूरा गर्न सहकार्य गरे । उनीहरूले अपेक्षा गरिएभन्दा निकै ठूलो उपलब्धि हासिल पनि गरे । नाजीहरूले भन्दा पहिले नै आणविक बम विकास गरेर उनीहरूले ‘मित्रराष्ट्रमण्डल’को जित सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेले ।
चलचित्र ओपेनहाइमरले वैज्ञानिक, नीति–निर्माता र राजनीतिज्ञहरू एउटा साझा लक्ष्य हासिल गर्न पंक्तिबद्ध भएको अद्वितीय ऐतिहासिक क्षणलाई याद दिलाउँछ
तर, हिरोसिमा र नागासाकीमा आणविक बम खसालिएपछि वैज्ञानिकहरूप्रति नैतिक सवाल खडा भयो । यसपछि वैज्ञानिक समुदाय र अमेरिकी सरकारबीचको सम्बन्ध सौहार्द रहेन । वैज्ञानिक समुदाय र अमेरिकी सरकारबीचको गठबन्धन चाँडै कटुतामा परिणत भयो । एकजना वैज्ञानिक क्लाउस फक्सले त म्यानहट्टन प्रोजेक्टबारेका अत्यन्त गोप्य जानकारी सोभियत संघलाई उपलब्ध नै गरिदिए । ओपेनहाइमर हाइड्रोजन बम विकासको विरुद्ध उत्रिए । लगत्तै सरकारले ओपेनहाइमरको विश्वसनीयतामाथि प्रश्न उठाइयो । सरकार उनको सुरक्षा खोस्दै आणविक कार्यक्रमको नेतृत्वबाट हटाउनतर्फ लाग्यो ।
यो चलचित्र विशेष गरी यसको निन्दालाई विज्ञान र राजनीतिबीचको उथलपुथलपूर्ण सम्बन्धको उदाहरणको रूपमा व्याख्या गर्न सकिन्छ । सन् २०२० को सुरुवातमा वैज्ञानिकहरूले हामीलाई विश्वव्यापी महामारीको बाटोमा रहेको जानकारी दिए । समयको कीर्तिमानी रच्दै असाधारण प्रयासमार्फत प्रभावकारी खोप विकास गरियो । तर, यसविपरीत, विश्वव्यापी तापमानको खतरा र यसको विनाशकारी प्रभावलाई कम गर्न वैज्ञानिकहरूले दिएका चेतावनीलाई भने दशकौँदेखि बेवास्ता गरिँदै आएको छ ।
ओपेनहाइमर र कोभिड– १९ विरुद्ध अमेरिकी सरकारको प्रतिकार्यको नेतृत्व गरेका नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका पूर्वनिर्देशक एन्थोनी फाउचीबीच एउटा उदेकलाग्दो समानता देखिन्छ । फाउची रिपब्लिकन राजनीतिज्ञ र कन्जर्भेटिभ राजनीतिका पण्डितहरूबाट अनगिन्ती षड्यन्त्र सिद्धान्त र राजनीतिक आक्रमणको विषय बने । ती तिनै राजनीतिज्ञ र पण्डित हुन् जसले जलवायु परिवर्तनलाई धोखा वा फर्जी भएको दाबी गर्छन् ।
निःसन्देह, यो समस्या न नयाँ हो न त यो संयुक्तराज्य अमेरिकामा मात्र सीमित छ । जब सोभियत तानाशाह जोसेफ स्टालिनले वैज्ञानिक संस्थापनलाई अवहेलना गर्दै ट्रोफिम लिसेन्कोको फर्जी सिद्धान्तलाई समर्थन गरे सोभियतको कृषिक्षेत्र सर्वनाश भयो । लाखौँ मानिसहरू भोकभोकै मर्न पुगे । यस्ता गुण विरासतका रूपमा पनि सर्छ । चीनमा माओत्सेतुङको सांस्कृतिक क्रान्तिले विश्वविद्यालयका प्राध्यापक र विज्ञहरूलाई वर्गीय शत्रुको संज्ञा दिँदै निशाना बनायो । यसविपरीत, सोभियत नेता निकिता खु्रस्चेभले वैज्ञानिकहरूको समर्थन गरे, जसले सोभियत संघलाई हाइड्रोजन बम विकास गर्न, स्पुतनिक–१ उपग्रह प्रक्षेपण गर्न र युरी गागरिनलाई अन्तरिक्षमा पुग्ने पहिलो मानव बनाउने मार्गप्रशस्त ग¥यो ।
दक्षिण अफ्रिकामा नेल्सन मन्डेलापछि राष्ट्रपति बनेका थाबो एम्बेकीले एचआइभी भाइरसको कारण एड्स भएको कुरालाई अस्वीकार गर्दा लाखौँ मानिसको ज्यान गयो । भेनेजुएलाका ह्युगो चाभेजले राज्यको स्वामित्वमा रहेको तेल कम्पनी पिडिभिएसएलाई सक्षम पेसेवरविनै चलाउन सक्छु भनी १८ हजार पेसेवर कर्मचारीलाई बर्खास्त गर्दा देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरिररहेको एउटा कम्पनी ध्वस्त हुनपुग्यो ।
विज्ञहरूसँग बहुमूल्य ज्ञान एवं सीप हुन्छन् जुन उनीहरूको सहमतिविना प्रयोग गर्न सकिँदैन भन्ने तथ्य विशेषज्ञता, नीति र राजनीतिबीचको जटिल अन्तक्र्रियाका लागि आंशिक रूपमा जिम्मेवार हुन्छ । उनीहरूको यो शक्तिले उनीहरूलाई आफूलाई मन नपरेको परियोजनाबाट अलग रहने शक्ति दिन्छ । उदाहरणका लागि, नाजी जर्मनीलाई परास्त गर्ने प्रयासमा वैज्ञानिकहरूबाट जसरी सर्वसम्मत समर्थन प्राप्त भएको थियो, हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्ने निर्णय र टड्कारो खतराविना अझ अधिक विनाशकारी हाइड्रोजन बम विकास गर्ने प्रयासले समर्थन पाउन सकेनन् ।
विज्ञहरूले कठिन नीतिगत निर्णयमा उपयोगी मार्गदर्शन प्रदान गर्न सक्छन् । तर, यसबाट उनीहरूको भूमिका विवादास्पद पनि बन्न सक्छ । कोभिड–१९ को फैलावट रोक्न अस्थायी, तर अत्यन्तै महँगो आर्थिक बन्दाबन्दीको आवश्यकता परेको थियो । जलवायु परिवर्तनको सामना गर्न पनि जीवाश्म इन्धनबाट यस्तै खालको विघटनकारी र महँगो स्थानान्तरण आवश्यक छ । यी निर्णयमा कठिन, अनिश्चित र स्वाभाविक रूपमा राजनीतिक सौदाबाजी संलग्न हुन्छन् । उदाहरणका लागि, कोभिड–१९ को संक्रमणदरलाई शिक्षा क्षेत्रको क्षतिसँग तौलने कार्य प्राविधिक कुरा मात्र होइन ।
यी ट्रेडअफको प्रकृति बुझ्न विज्ञहरूको भूमिका महत्वपूर्ण भूमिका हुन्छ । तर, उनीहरूको सर्वाेत्तम कार्यदिशाबारे राय बनाउने स्वाभाविक झुकावले उनीहरूलाई आफ्नो विशेषज्ञताको क्षेत्रभन्दा बाहिर राजनीतिक निर्णयतर्फ क्षेत्रमा लैजान्छ । उदाहरणका लागि, महामारीविज्ञहरूले महामारीको समयमा विद्यालयहरू खोल्दा स्वास्थ्यमा पर्ने असरबारे व्याख्या गर्छन् । तर, विद्यालय बन्द हुँदा विद्यार्थीको शैक्षिक नतिजामा कस्तो असर पर्छ वा समाजले यी परस्परविरोधी उद्देश्यलाई कसरी महŒव दिनुपर्छ भन्नेबारे उनीहरूको अन्तज्ञान सीमित हुन्छ । महत्वपूर्ण कुरा के भने, अधिकांश वैज्ञानिक र विज्ञहरू पैसाबाट अभिप्रेरित हुँदैनन् । बरु, अन्वेषणको प्रक्रिया र त्यसबाट आफूले प्राप्त गर्ने सामाजिक मान्यताबाट उनीहरूले सन्तुष्टि प्राप्त गर्छन् ।
आफ्ना विज्ञहरूको मूल्य र महत्वलाई पहिचान गर्न असफल समाज, उनीहरूको ज्ञानबाट पनि वञ्चित हुन्छ । उसले आफ्ना भविष्यका विशेषज्ञहरूको संख्या र गुणस्तरलाई पनि घटाउँछ । यसैगरी, ज्ञान र निर्णय–निर्माणबीचको भिन्नतालाई धुमिल पार्ने वैज्ञानिक समुदायले पनि समाजको विश्वास गुमाउने खतरा हुन्छ ।
– प्रोजेक्ट सिन्डिकेटबाट (भेनेजुएलाका पूर्वयोजनामन्त्री तथा इन्टर–अमेरिकन डेभलपमेन्ट बैंकका पूर्वप्रमुख अर्थशास्त्री होउसम्यान हार्वर्ड केनेडी स्कुलका प्राध्यापक तथा हार्वर्ड ग्रोथ ल्याबका निर्देशक हुन् ।)