‘वसुधैव कुटुम्बकम्’को विडम्बनापूर्ण प्रसार

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

उच्च आदर्श र निहितार्थ विचारका कारण ‘वसुधैव कुटुम्बकम्’ (सारा विश्व एक परिवार हो) भन्ने वाक्यांशले अविश्वसनीय एवं अपार समावेशिताको अर्थ दिन्छ । जी २० सम्मेलनमार्फत भारतले विश्वभर भ्रातृत्वको भावना फैलाउने महत्वाकांक्षा राख्नु निःसन्देह प्रशंसायोग्य छ । तथापि मणिपुरजस्ता साम्प्रदायिक हिंसाका घटना बढिरहँदा र हाम्रा वरिपरि चलिरहेका सनातन धर्म, भारत–इन्डियालगायत विवादका विषयमाथि थोरै पनि चासो राख्ने हो भने भ्रातृत्वको सबैभन्दा बढी आवश्यकता हामीलाई नै छ । ‘वसुधैव कुटुम्बकम्’लाई पहिले आफ्नो मुलुकभित्रै लागू गरौँ । भारतमा हामी अहिले एकीकृत परिवारका रूपमा जोडिएका छैनौँ । ठीक विपरीत धर्म, जात–जाति, भाषा, संस्कृति र अन्य धेरैको विभाजनको भार बोक्दै हामी दिनानुदिन संकीर्ण बन्दै गएका छौँ ।

वैज्ञानिकले पूर्वाग्रहको उत्पत्ति उद्विकाससँग जोडिएको छ भन्ने देखाएका छन् । जंगलमा जनावर प्रायः अपरिचित वा नौलो जनावर वा वस्तुसँग डराउँछन् र अविश्वास गर्छन्, किनभने जंगली जनावर आफ्नो क्षेत्रमा नवआगन्तुकलाई सम्भावित खतराका रूपमा देख्छन् । त्यसैगरी, एउटै प्रजातिबीच पनि आफ्नो समूहका सदस्यलाई समर्थन गर्ने र समूहबाहिरकालाई शंका गर्ने स्वाभाविक प्रवृत्ति देख्न सकिन्छ । र, मानिसले आफ्नो पशु पुर्खाबाट पूर्वाग्रही प्रवृत्तिको विरासत बोकेका छन् ।

‘वसुधैव कुटुम्बकम्’को ऐतिहासिक विचार हाम्रो राष्ट्रभित्र रहेका विभिन्न समूहबीचको सन्देह हटाउन र द्वन्द्व समाधान गर्न अपर्याप्त साबित भएको छ । भारतीय जनसंख्याको एक महत्वपूर्ण हिस्साका लागि यो वाक्यांश एक विडम्बनाबाहेक केही नहुन सक्छ । यो विडम्बनालाई महाराष्ट्रको अहमदनगरमा हालैको एक दुःखद घटनाले उजागर गर्छ, जहाँ चार दलित पुरुषलाई रुखमा झुन्ड्याएर क्रूर एवं निर्दयी ढंगले कुटपिट गरिएको छ । यो डरलाग्दो आक्रमणपछि उच्च जातका मानिसले परेवा र बाख्रा चोरीका लागि गरेको शंका रहेको छ । 

नुह, मणिपुरजस्ता साम्प्रदायिक हिंसाका घटना बढिरहँदा भ्रातृत्वको सबैभन्दा बढी आवश्यकता हामीलाई नै रहेको देखिन्छ 

‘वसुधैव कुटुम्बकम्’ भन्ने वाक्यांशको उत्पत्ति प्राचीन ग्रन्थ ‘उपनिषद्’बाट भएको हो । तर, वर्तमान परिप्रेक्ष्यमा यसले अर्कै रूप लिएको छ । यो विशेषतः अधिकारप्राप्तसँग निम्नवर्गका मानिस, जो विशेषाधिकारबाट वञ्चित छन्, तिनले गर्ने याचनामा परिणत भएको छ ।

दुर्भाग्य, खेलकुदमा पूर्वाग्रह असामान्य देखिँदैन । खेलकुदमा सहभागीको जातीय वा धार्मिक सम्बद्धताले पूर्वाग्रह द्वेषमा परिणत हुने गर्छ । यो विचार खेल उत्साहीका लागि निकै कष्टप्रद विषय हो र कष्टप्रद भए पनि यो हाम्रो यथार्थ हो । यही जुलाईमा राजस्थानमा क्रिकेट लिगको चिन्ताजनक समाचार सतहमा आएका थिए, जहाँ खेल टोलीको नाम जात वा धर्मका नाममा राखिएको थियो । बैरवा स्ट्राइकर्स, चौहान नाइट राइडर्स, जय भीम, सनातनी ब्वाइज, खत्री ब्लास्टर, मारवाडी क्लब, टिम सेफरन, भीम सेना, रोयल अम्बेडकर, टोन्डवाल क्रिकेट क्लबलगायत टोली यसका उदाहरण हुन् । यो खेल भाजपा विधायकद्वारा आयोजित एक वास्तविक खेल प्रतियोगिताभन्दा पनि एक राजनीतिक उद्यमजस्तो देखिन्थ्यो । स्वभावतः यो ‘वसुधैव कुटुम्बकम्’को भावनाअनुरूप थिएन ।

क्रिकेटमा बग्रेल्ती पूर्वाग्रह देख्न सकिन्छ, उदाहरणका लागि तीन वर्ष पुरानो एक घटनालाई नै लिँदा हुन्छ । पूर्वक्रिकेट स्टार युवराज सिंहले रोहित शर्मासँगको अनलाइन च्याटमा लेग स्पिनर युजवेन्द्र चहललाई उनको टिकटक भिडियोलाई लिएर भंगी भन्दै अपमानजनक शब्द प्रयोग गरेका थिए । शर्माले यसमा हाँस्दै जवाफ फर्काएका थिए । यस घटनाले विवाद उत्पन्न गरेपछि युवराजले खेद व्यक्त गरेका थिए, तर माफी भने मागेका थिएनन् ।

उनले ‘साथीसँग कुराकानी गर्दा मलाई गलत ढंगले बुझियो, जुन अनुचित थियो । तर, एक जिम्मेवार भारतीयका नाताले मैले अनजानमा कसैको भावनामा चोट पुर्याएको छु भने म खेद प्रकट गर्छु’ भनेका थिए । सम्भवतः युवराजलाई भंगी शब्दमा निहितार्थ जातीय द्वेषबारे थाहा नहुन सक्छ । यति भन्दै गर्दा युवराज सिंह तिनै सहरी युवामध्ये एक हुन्, जसले जात पुरानो जमानामा थियो, अहिले छैन भन्ने गर्छन् । यिनै सहरी युवाले ढल र मंगाल सफा गर्नेहरू रुचिसाथ आफ्नो काम गर्छन् भन्ने ठान्छन् ।

यस परिघटनाले हामीलाई सुनील गावस्करको कथाको सम्झना गराउँछ, जहाँ उनी अस्पतालमा जन्मँदा गल्तीले अर्को बच्चासँग साटिएका थिए । एक आफन्तले वास्तविक शिशु गावस्करको देब्रे कानमा एक विशिष्ट संकेत देखेका थिए, तर पछि शिशुमा उनले त्यो संकेत देखेनन् । वास्तवमा उनी एक माझीका घरमा पुगेका थिए र यो घटनाले यदि उनी माछा मार्ने परिवारमा हुर्केका थिए भने उनी क्रिकेटर बन्ने नै थिएनन् भन्ने प्रस्ट हुन्छ । गत दुई दशकमा खेलकुदमा उल्लेख्य लोकतान्त्रीकरण भए पनि क्रिकेटमा अहिलेसम्म केवल चारजना दलितले देशको प्रतिनिधित्व गरेका छन् । हाम्रो जस्तो स्तरीकृत समाजमा तपाईंको जन्मले अवसर र सम्भावनाको निर्धारण गर्छ नै ।

केही वर्षअघि सिम्लामा क्रिसमसको पूर्वसन्ध्यामा मेरो साथी र मैले सुटमा सजिएर क्रिसमस उत्सव मनाउँदै गरेको एकजना मानिससँग भेटेका थियौँ । ती व्यक्ति हालसालै इसाई भएका थिए । ती व्यक्तिले ममाथि हाँस्दै अपमानजनक टिप्पणी गरेका थिए । मेरो नास्तिक मनले मनमनै ‘यदि तिम्रो धर्मले यस्तै सिकाउँछ भने यसबाट किन मुक्ति नपाउने’ भनेको थियो । 

के हामी ‘वसुधैव कुटुम्बकम्’को भावनालाई आफ्नै मुलुकमा लागू गर्न सक्छौँ त ? (खेलकुद क्षेत्रमा कलम चलाउने महाजन ट्रिब्युन इन्डियाका सहसम्पादक हुन्) ट्रिब्युन इन्डियाबाट

सुझावित समाचार