लर्ड बुद्धले २५ वर्षमा उत्पादन गर्‍यो १२ हजार आइटी जनशक्ति

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

नेपालकै जेठो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले २५औँ वार्षिकोत्सव मनाएको छ । आइटी क्षेत्रमा करिब १२ हजार जनशक्ति उत्पादन गरिसकेको यस फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा छुट्टै पहिचानसहित २५ वर्षअघि स्थापना भएको थियो । 

स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल डिजिटल युगमा प्रवेश गरिसकेकाले देशका युवायुवतीको भविष्य जोडिएको बताए । फाउन्डेसनले आइटी क्षेत्रमा नेपाललाई अग्रणी स्थान पुर्याएको उनले बताए । ‘फाउन्डेसनले महिलालाई निःशुल्क शिक्षासमेत दिँदै आएको रहेछ, यो निकै राम्रो कुरा हो,’ उनले भने, ‘सूचना प्रविधिको विकाससँगै नीतिगत र कानुनी आधारशीला तयार हुँदै छन्, अब देशमा दक्ष जनशक्ति उत्पादन गर्न र रोजगारी सिर्जना गर्न जरुरी छ ।’ उनले शिक्षा र रोजगारका लागि युवा बिदेसिने अवस्थाको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो । शिक्षा र रोजगारीलाई सँगसँगै अघि बढाउन पनि उनले जोड दिए । 

फाउन्डेसनले दुई करोडबराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ भने स्थापनाकालदेखि हालसम्म १२ हजारभन्दा बढीले आइटीमा स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका छन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले बिदेसिने विद्यार्थीको लहरलाई रोक्नुपर्ने बताए । नेपालमा आइटीको उत्कृष्ट पढाइ हुने बताए । ‘विदेश गएकालाई फर्काउन लागिपर्न जरुरी छ,’ उनले भने, ‘नेपालमा आइटीको भविष्य राम्रो छ, बरु विदेशबाट विद्यार्थी ल्याउनतर्फ सरकारले ध्यान दिनुपर्छ, विश्वविद्यालय र सरकार सचेत हुन जरुरी छ ।’ 

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आइटी क्षेत्रमा करिअर राम्रो भएकाले फाउन्डेसनको भूमिका प्रभावकारी रहेको बताइन् । उनले हाल उच्च शिक्षा विधेयक क्याबिनेटमा रहेकाले विधेयक कार्यान्वयनमा आएपछि विश्वविद्यालयसम्बन्धी प्रभावकारी व्यवस्था गर्ने बताइन् । ‘विधेयक क्याबिनेटमा छ, यसमा बृहत् छलफल गर्न जरुरी छ । गुणस्तरीय शिक्षाका लागि युवा बाहिर गइरहेका छन्,’ उनले भनिन्, ‘यसलाई हामीले गम्भीर रूपमा लिएर रोक्नुपर्छ ।’ 

मैतीदेवीस्थित फाउन्डेसनले चार वर्षदेखि सातै प्रदेशका एक–एकजना महिलालाई निःशुल्क शिक्षा दिँदै आएको छ । यस्तै, १० हजारभन्दा बढी महिलालाई कम्प्युटरसम्बन्धी तालिमसमेत दिएको छ । फाउन्डेसनका अध्यक्ष पंकज जालानले फाउन्डेसनले स्थापनाकालदेखि नै सबैका लागि शिक्षा नीति अवलम्बन गर्दै आएको बताए । ‘२५ वर्षको कालखण्डलाई फर्किएर हेर्दा प्राविधिक शिक्षा आमचासो विषय हुन सक्छ र यसको आवश्यक छ भन्ने मान्यतालाई स्थापना गर्न सकेका छौँ,’ उनले भने, ‘हामीले प्राविधिक शिक्षामा महिला सशक्तीकरणलाई पनि आत्मसात् गर्दै आइरहेका छौँ ।’ उनले पढ्दै कमाउँदै भन्ने सरकारको नीतिलाई समेत फाउन्डेसनले आत्मसात् गरेर आइटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेको दाबी गरे । 

सुझावित समाचार