परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्नेमा परराष्ट्रविद् पाण्डेले जोड दिए।
छिमेकी देशले कूटनीतिक रूपमा स्पष्ट गर्दा गर्दै अब सार्वजनिक रूपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताए। उनले भने, ‘नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ। दुवै देश हाम्रा छिमेकीले उनीहरूको चाहना सुरक्षित छैन भन्ने अनुभूति गरेका छन्। त्यसलाई उनीहरूले कूटनीतिक रूपमा स्पष्ट गर्दा गर्दै अब सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन्। उनीहरूको व्यवहारबाट देखिन्छ। त्यसैले सहसचिवस्तरबाट हुनुपर्ने वार्ताका कुराहरू योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ।’
परराष्ट्रविद् पाण्डेले सहसचिवस्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्ने बताए।