सिटिइभिटीको रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ : मन्त्री राई

शुक्रबार, २२ भदौ, २०८०
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को रोकिएका परीक्षा सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको विवादका कारण रोकिएका परीक्षा सञ्चालनका लागि छलफल भइरहेको बताएका हुन्।

परीक्षा गर्ने वातावरण बनाउन मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका बीचमा छलफल भइरहेको मन्त्री राईले स्पष्ट पारे। आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्याउने उनको भनाइ छ।

‘सिटिइभिटीले परीक्षा लिने सन्दर्भको प्रसंगलाई अब समाधान गर्न सकिन्छ होला । एउटा मुद्दामा हामी सबैलाई अल्झिनुपरेको थियो । अदालतले हिजोबाट फैसला गरिदिएको छ । अब परिषद्को बैठक बस्न सकिन्छ होला,’ उनले भने, ‘विगतमै परिषद् बसेर सम्बन्धन दिइसकेका संस्थाहरूको हकमा आयोगले कन्सिडर गरिदिएको भए हुन्थ्यो भन्ने पनि लागेको थियो। ४८ वटा संस्थाहरू अपग्रेड हुने रहेछन्। सम्बन्धन दिने निर्णय पनि पहिले नै भइसकेको रहेछ। अब हाम्रो बाटो खुलेको छ।’

मन्त्री राईले सिटिइभिटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरूको सम्बन्धमा निर्णय गरेर आयोगसमक्ष पठाइने जानकारी दिए। उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने बताए।

सुझावित समाचार