चन्द्रयान–३ पछि नयाँ क्षितिज पर्खिंदै भारत

भारतीय अन्तरिक्ष कार्यक्रम संसारकै सबैभन्दा पुरानो र सबैभन्दा महत्वाकांक्षी कार्यक्रममध्ये एक हो

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

मंगलयान भनेर चिनिने भारतको मार्स अर्बिटर मिसन सन् २०१४ मा मंगल ग्रहको कक्षमा पुग्न सफल भएको थियो । भारत यो उपलब्धि हासिल गर्ने पहिलो एसियाली राष्ट्र बन्न पुग्यो र यससँगै भारतको यो मिसन विश्वकै यस्तो मिसन बन्यो, जुन पहिलो प्रयासमै मंगल ग्रहको कक्ष पुग्न सफल भयो । त्यसवेला न्युयोर्क टाइम्सले भारतको अन्तरिक्ष मिसनलाई लिएर कार्टुन छापेको थियो । कार्टुनमा हुनेखाने पश्चिमा पुरुष एक बन्द कोठामा भारतको मार्स मिसनको समाचार पढिरहेका थिए र बाहिर भारतीय भनेर चिनाइएका व्यक्ति पगडी, धोती–कुर्ता पहिरेर गाई डोर्याउँदै बन्द कोठाका ढोका ढकढक्याइरहेका थिए । यस कार्टुनले निःसन्देह कृपाभाव र नश्लभेद दर्साइरहेको थियो । स्वभावतः भारतीय यो कार्टुनलाई लिएर निकै क्रुद्ध भएका थिए ।

अहिले भारतको चन्द्रयान–३ मिसनले विश्वमै पहिलोपटक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेपछि एक नयाँ कार्टुन चर्चित बनेको छ । यो नयाँ कार्टुनमा बन्दकोठामा धोती–कुर्ता लगाएका भारतीय गाईसँगै बसेर भारत चन्द्रमाको दक्षिणी ध्रुव पुग्ने पहिलो मुलुक शीर्षकमा समाचार छापिएको न्युयोर्क टाइम्स पढिरहेका देखिन्छन् भने कोठाबाहिर अमेरिकी, रुसी र अन्य मानिस हातमा रकेट लिएर ढोका खोल्न याचना गरिरहेका छन् ।

भारतीयले आफ्नो अन्तरिक्ष कार्यक्रममा निकै गर्व गर्छन् । नगरून् पनि किन ? भारतीय अन्तरिक्ष कार्यक्रम संसारकै पुरानो र महत्वाकांक्षी कार्यक्रममध्ये एक हो । यो कार्यक्रम भारत स्वतन्त्र भएको र पीडादायी ढंगले पाकिस्तान छुट्टिएको वर्ष अर्थात् सन् १९४७ मा अहमदाबादमा स्थापित फिजिकल रिसर्च ल्याबरोटेरीबाट सुरु भएको थियो ।

सन् १९६२ मा अग्रगामी सोच भएका भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले इन्डियन नेसनल कमिटी फर स्पेस रिसर्च (इन्कोस्पार) को स्थापना गरेसँगै भारतले अन्तरिक्ष खोजको औपचारिक यात्रा सुरु गरेको थियो । सन् १९६९ मा इन्कोस्पार इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) बन्यो । त्यसयता इसरोले चन्द्रमामा तीन मिसन र मंगलग्रहमा एक मिसन पठाएको छ । त्यसैगरी इसरोले अन्तरिक्ष वाहन र भूउपग्रह निर्माण गरेको छ । यसबाहेक यही महिनामा भारतले आदित्य–एलवान नामक शौर्य वेधशाला प्रक्षेपण गरिरहेको छ र यो वर्षको अन्त्यसम्ममा पृथ्वीको तल्लो कक्षमा दुईदेखि तीनजना अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ । यसअघि एक भारतीय अन्तरिक्षयात्रीले सोभियत अन्तरिक्षयानबाट सन् १९८४ मा पृथ्वीको कक्षको परिक्रमा गरेका थिए । 

अन्तरिक्षमा भारतको सफलता नेहरूले गरेको ‘वैज्ञानिक चिन्तन’को प्रवद्र्धन, राष्ट्रिय उन्नतिका लागि प्रविधिमा विश्वास र गरिबी, खाद्य असुरक्षा, रोग–भोक एवं अशिक्षाजस्ता चुनौतीका बाबजुद पनि भारतीय वैज्ञानिकप्रतिको विश्वासका कारण सम्भव भएको हो । नेहरू तारालाई लक्ष्य बनाउन प्रतिबद्ध थिए । पर्याप्त बजेट अभावका बाबजुद पनि भारतको अन्तरिक्ष कार्यक्रम सफल हुनुका पछाडि नेहरूको आत्मनिर्भरताको सिद्धान्तले काम गरेको छ । मंगलयान र चन्द्रयान–३ जस्ता मिसनमा इसरोको न्यून लागतले पनि बजेटको अवस्था दर्साउँछ । वास्तवमा इसरोको मिसनको लागत नासा मिसनको तुलनामा दशांश थियो । चाखलाग्दो के छ भने इसरोको मिसन ग्रेभिटी र इन्टरस्टेलरजस्ता हलिउडका अन्तरिक्षसम्बन्धी चलचित्रभन्दा पनि सस्तो थियो ।

इसरो मितव्ययितामा मात्रै सीमित छैन । उत्कृष्ट स्वदेशी प्रविधि अपनाएको इसरो प्रक्षेपण वाहन र भूउपग्रहको अग्रणी उत्पादक पनि हो । त्यसैगरी, किफायती अन्तरिक्ष प्रक्षेपणका कारण इसरोको माग बढिरहेको छ । २४ सफल प्रक्षेपण गरेको पोलार सेटेलाइट लन्च भेइकल एक उत्कृष्ट सफलता हो । फेब्रुअरी २०१७ मा भारतले एक रकेटमा एक सय चार भूउपग्रह प्रक्षेपण गरेर कीर्तिमान कायम गरेको थियो । प्रक्षेपण गरिएका अधिकांश भूउपग्रह अमेरिकी थिए ।

सन् १९६० को दशकमा जब भारतीय रकेट बैलगाडामा ढुवानी गरिन्थ्यो । यस अर्थमा हामीले निकै उन्नति गरेका छौँ । विभिन्न विज्ञले अन्तरिक्ष अर्थतन्त्रमा हाल दुई प्रतिशत हिस्सा ओगटेको भारतको अन्तरिक्ष कार्यक्रमले आगामी एक दशकमा १० प्रतिशत हिस्सा ओगट्ने आकलन गरेका छन् । 

जब भारतको ल्यान्डर चन्द्रमामा अवतरण भयो प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धिमत्तापूर्ण ढंगले सम्पूर्ण मानवताको जितको अवतरणलाई अथ्र्याएका छन् । त्यसैगरी उनले अवतरणले एक अर्ब ४० करोड भारतीयको आकांक्षा र क्षमतालाई प्रतिबिम्बित गर्छ भनेर सकारात्मक सन्देश दिएका छन् ।

भारतको अन्तरिक्ष कार्यक्रमले यसको प्राविधिक क्षमतामा जोड दिन्छ । कार्यक्रमले साइबर नियमनदेखि शान्ति स्थापनासम्मका विश्वव्यापी समस्या समाधानमा योगदान गर्ने क्षमता पनि दर्साएको छ । भारतले आफूलाई विकसित मुलुकको पदचाप पछ्याउने मात्रै नभई आफँै पथप्रदर्शक बनिरहेको देखाइरहेको छ । 

चन्द्रयान–३ को सफलताले विश्वस्तरमा भारतको विश्वास बढेको छ । भारतले जी २० को अध्यक्षता गरिरहेको छ र यो दक्षिणी गोलार्धको एक मुखर आवाज हो । अहिले भारतले जटिल भूराजनीतिको सामना गरिरहेको छ अर्थात् क्वाड (अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिकासँग) र सांघाई सहयोग संगठन (रुस र चीनसँग) सँग सक्रिय रूपमा जोडिएको छ । पश्चिमा राष्ट्रसँगको सम्बन्ध बलियो हुँदा भारतले चीनसँगको तनावपूर्ण सीमा विवाद र आफ्नो परम्परागत सहयोगी रुससँग थप जटिल सम्बन्धजस्ता चुनौतीको सामना गरिरहेको छ ।

भारतको विश्वव्यापी भूमिका र सम्बन्धको भविष्य निश्चित देखिँदैन, तथापि अन्तरिक्ष उपलब्धिले भारतले अन्य मुलुकबाट अथाह सम्मान पाएको छ । चन्द्रयान–३ पछि भारत नयाँ क्षितिज पर्खिरहेको छ ।
(थरुर भारतीय राष्ट्रिय कंग्रेसका नेता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार