प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डामा उरै नाका पनि समावेश गर्न माग

बिहिबार, २१ भदौ, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिमका व्यवसायीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी महिना हुने चीन भ्रमणको एजेन्डामा बझाङको उरै नाका सञ्चालनको विषयलाई समावेश गर्न माग गरेका छन् । चीनसँग जोड्ने उरै नाका सञ्चालनको विषयलाई भ्रमणको एजेन्डामा समावेशका लागि पहल गरिदिन व्यवसायीहरूले सुदूरपश्चिम प्रदेश सरकारसँग पनि आग्रह गरेका छन् ।

उरै नाका सञ्चालनमा ल्याउन सके उद्योग, पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको आर्थिक समृद्धि हासिल गर्न सकिने उनीहरूको भनाइ छ । उरै नाकाले भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दूरीमा जोड्ने भएकाले यसलाई त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्न सकिने सम्भावना रहेको व्यवसायीहरूले औँल्याएका छन् ।

कैलाली उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्प कुँवर यो नाका सञ्चालन हुन सकेमा पर्यटन तथा व्यापारका माध्यमबाट सुदूरपश्चिमको मात्र नभई राष्ट्रिय अर्थतन्त्रमै महत्वपूर्ण योगदान पुग्न सक्ने बताउँछन् । सुदूरपश्चिमको समग्र विकासका लागि चीनसँगका नाका खोल्नेसँगै भारतसँगका नाकाहरूको स्तरोन्नति आवश्यक रहेको उनले बताए । ‘उरै नाका खोल्न सके ‘कनेक्टिभिटी’ बढ्छ, व्यापारिक कारोबारमा सहज हुन्छ । यहाँको औद्योगिक विकासमा सहयोग पुग्छ,’ कुँवरले भने, ‘नाका खुलाउनेतर्फ सरकारको ध्यान जानुपर्छ ।’ उत्तर र दक्षिणतिरका नाकाहरू खोल्न सके सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने भएकाले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उरै नाकाको विषय उठाउन आग्रह गरिएको उनले बताए । 

करिब हजार वर्षदेखि व्यापारिक र धार्मिक गतिविधि हुँदै आएको ठानिएको यो नाका कोरोनायता प्रवेश निषेध गरिएको छ । बझाङको चैनपुरदेखि उरैसम्म जोड्ने सडक निर्माण हुन सकेको छैन । चैनपुरदेखि उरैसम्म एक सय १७ किलोमिटरमध्ये हालसम्म ४० किलोमिटरमा मात्र ट्र्याक खोल्ने काम पूरा भएको छ । 

सरकारले कैलालीको टीकापुरदेखि बझाङमा चीनतर्फको ताक्लाकोट जोड्ने सडकलाई सेती लोकमार्गका रूपमा अगाडि बढाएको छ, तर डेढ दशकसम्म ट्र्याक खोल्ने कामसमेत पूरा भएको छैन । त्रिदेशीय व्यापारिक मार्गका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो यहाँका स्थानीयको छ ।

उरै नाकाको विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणको एजेन्डामा राख्न आवश्यक पहल गर्न आग्रह गर्दै व्यवसायी तथा व्यावसायिक संघ–संस्थाले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश समिति, जिल्ला समिति, नाटा सुदूरपश्चिमलगायत व्यावसायिक संघसंस्था तथा व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

पर्यटन व्यवसायीहरूको संस्था नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले उरै नाका खोल्न सके सुदूरपश्चिमको पर्यटन विकासले छलाङ मार्ने बताए । उरै नाका खुले चीनको मानसरोवर जाने हजारौँ भारतीय पर्यटकलाई सुदूरपश्चिम भित्र्याउन सकिने उनको भनाइ छ । ‘प्रधानमन्त्रीको चीन भ्रमणमा उरै नाकालाई एजेन्डामा राख्न प्रदेश सरकार आफैँले पनि पहल गर्नुपर्ने हो,’ सिंहले भने, ‘हामीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पहल गर्न आग्रह गरेका छौँ ।’

सुझावित समाचार