विश्वकै अग्लो स्थानमा रहेको मुस्ताङ जिल्लाको लोमान्थाङमा रहेको मुस्ताङ गल्फ कोर्समा दोस्रो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजनामा ३० भदौमा प्रतियोगिता हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
समुद्री सतहबाट चार हजार ६ सय ४५ मिटर उचाइमा रहेको गल्फ कोर्समा हुने प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, बुटवललगायतका ३६ पुरुष र चार महिलाले भाग लिने गल्फ संघ गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिए ।
प्रतियोगितामा ९ होलमा ३/४ ह्यान्डी क्यापमा हुनेछ । प्रतियोतिगामा पुरुष र महिला विजेतासँगै बेस्ट ग्रस, क्लोज टु पिन, लंगेस्ट ड्राइभ र बर्डिजलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा होल इन वानको विजेतालाई घोडा पुरस्कार राखिएको छ । विजेताले पुरस्कारस्वरूप प्राप्त हुने घोडा नलगे एक लाख पाउने विष्टले जानकारी दिए ।
७५ प्रतिशत काम सकियो
मुस्ताङ गल्फ कोर्सलाई विश्व रेकर्ड कायम गराउन र प्रतियोगितालाई विश्वस्तरमा प्रसारप्रसार गर्ने काम भइरहेको छ । यसअघि भारतको पूर्वी सिक्किमको कुपुपमा तीन हजार ९७० मिटर उचाइमा रहेको याक गल्फ कोर्सले विश्व कीर्तिमान बनाएको थियो । ३० भदौमा प्रतियोगिता हुँदा मुस्ताङको कोर्सले विश्व रेकर्ड बनाउनेछ ।
गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन ७५ प्रतिशत काम सकिएको विष्टले बताए । गत वर्ष भएको प्रतियोगितालाई विश्वका प्रसिद्ध समाचार एजेन्सीले प्राथमिकतामा राखेको थियो । दोस्रो संस्करणमा विदेशी गल्फरहरूलाई समेत सहभागी गराउने गरी तयारी भइरहेको छ ।