ललितपुर महानगरपालिकाभित्रका चोक–चोकमा ‘हाई मास्ट’ (उच्च मात्रामा प्रकाश दिने बत्ती) राखिएको छ । मास्ट हेडका कारण महानगरभित्रका ठाउँहरूमा सुरक्षित यात्राका लागि सहज भएको छ ।
महानगरपालिकाका अनुसार हाल ११ ठाउँमा मास्ट हेड राखिएको छ भने बालकुमारी चोकमा एउटा मास्ट हेड राख्ने काम सुरु भएको छ । महानगरका अनुसार कुपन्डोल पुल, सहिद शुक्रराज पार्क, महानगरपालिकाआगाडिको पार्क, जावलाखेल, लगनखेल बसपार्क, लगनखेल बटुक भैरव मन्दिर, लगनखेल महालक्ष्मी मन्दिर, धोबीघाट ठाडो ढुंगा, धोबीघाट ढुंगेधारा, बुङमती बसपार्क, शंखपार्कमा गरी ११ ठाउँमा मास्ट हेड राखिएको छ ।
‘१२ मध्ये ११ ठाउँमा हामीले मास्ट हेड राखिसकेका छौँ । एक ठाउँमा राख्ने काम भइरहेको छ,’ ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले भने, ‘मास्ट हेडका कारण महानगरभित्र झिलिमिली मात्र नभई रात्रिकालीन यात्राका लागि सहज वातावरण सिर्जना भएको छ ।’
सडकबत्ती जडानका लागि टेन्डर गरिँदै
महानगरभित्र तेस्रो चरणको स्मार्ट सडकबत्ती जडान गर्न टेन्डर आह्वान गरिँदै छ । महानगरले तेस्रो चरणको बत्ती जडानका लागि आगामी साता टेन्डर गर्न लागेको हो । तेस्रो चरणअन्तर्गत बल्खुदेखि बालकुमारीसम्म ७ दशमल ९ किलोमिटर क्षेत्रमा सडकबत्ती जडान गरिनेछ । यसका लागि करिब दुई करोड लाग्नेछ । ‘पहिलो र दोस्रो चरणको सफलतापछि हामीले तेस्रो चरणमा स्मार्ट सडकबत्ती जडान गर्न लागेका हौँ । यसका लागि अर्को हप्ता टेन्डर गर्नेछौँ,’ प्रवक्ता महर्जनले भने । महागनरले पहिलो चरणअन्तर्गत (फागुन ०७७ मा) ६ सयवटा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । यसअन्तर्गत कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा बत्ती राखिएको छ ।
दोस्रो चरणअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार, सुनाकोठी, खोकना, भैँसेपाटी हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखिएको छ । धापाखेलका केही स्थानमा बाहेक अन्य ठाउँमा सडकबत्ती जडान गरिसकेको महानगरले जनाएको छ । महानगरका अनुसार धापाखेल क्षेत्रमा स्थानीयको अवरोधका कारण सडकबत्ती जडानमा केही ढिलो भए पनि हाल उक्त समस्या समाधान भइसकेको छ । ती क्षेत्रमा करिब १४ सय सडकबत्ती जडान गरिएको छ । सडकबत्ती जडानमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत सहयोग रहेको छ ।
यस्तो छ महानगरले राखेको स्मार्ट सडकबत्ती
महानगरले दोस्रो चरणमा जडान गरेको स्मार्ट सडकबत्ती बाल्न र निभाउन मानिसको आवश्यकता पर्दैन । सडकको चहलपहलअनुसार आफैँ बल्ने–निभ्ने गर्छ । रातको समयमा सडकबत्तीलाई केन्द्रबाट कन्ट्रोल गर्नसमेत सकिनेछ । ०७४ सालको स्थानीय तह निर्वाचनकै वेला नगर प्रमुखका रूपमा उम्मेदवार बनेका चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए ।
सोही घोषणाअनुसार ०७७ सालदेखि महानगरले स्मार्ट सडकबत्ती जडान गर्न थालेको हो । स्मार्ट सडकबत्ती जडान कार्य स्मार्ट सहर बनाउने योजनाअन्तर्गत रहेको महानगरले जनाएको छ । तीन वर्षदेखि सडकबत्ती राख्न थालेको महानगरले यो वर्ष भने सडकबत्ती राख्ने कामलाई अन्तिम रूप दिँदै छ ।