रजनी श्रेष्ठले ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन् । महिला शारीरिक सुगठनको ५५ केजी तौलसमूहमा भारतकी सविता बानियालाई पराजित गर्दै उनले स्वर्ण जितेकी हुन् । प्रतियोगिताको दोस्रो दिनसम्म नेपालले तीन स्वर्ण जितेको छ । नेपालले थप ६ रजत र ३ कांस्य पदक जितेको छ । रजनीको तौलसमूहमा भियतनामकी दिन्ह किम तेस्रो स्थानमा रहिन् । महिलातर्फ १५५ सेमिसम्मको मोडल फिजिकमा तारा खाइजुले रजत हात पारेकी छिन् । यस विधामा थाइल्यान्डकी किरातिया छन्त्रतले स्वर्ण हात पारिन् ।
भारतकी निमाडोमा लामाले कांस्य जितिन् । एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको च्याम्पियनसिपको १७० सेमिसम्मको पुरुष फिजिक विधामा राजु राईले रजत पदक जितेका छन् । उनले माल्दिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कांस्य पदक प्राप्त गरेका थिए ।
थाइल्यान्ड र भारतका खेलाडी हाबी
थाइल्यान्डका वान्चाई कान्जानापिमिनेले स्वर्ण प्राप्त गरे । भियतनामका तरान होङ थुआनले तेस्रो स्थान रक्षा गरेका छन् । महिलातर्फको १७ सेमिमाथिको प्रतिस्पर्धामा रन्जित लामाले कांस्य पदक प्राप्त गरे । पहिलो स्थानमा थाइल्यान्डका सोयश्री र दोस्रो स्थानमा चाइना मकाउका अउ मान किट रहेको आयोजकले जनाएको छ । पुरुषको ७५ केजी तौलसमूहमा ललित धिमालले नेपालका लागि रजत दिलाएका छन् । भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले धिमालले प्रतिस्पर्धा गरेको विधामा कांस्य प्राप्त गरे ।
यसैगरी, ८० केजी तौलमा नेपालका कृष्णप्रसाद श्रेष्ठले कांस्य पदक प्राप्त गरे । थाइल्यान्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकाश प्रधानले रजत प्राप्त गरे । यसअघि प्रतियोगिताको पहिलो दिन विशाल पौडेल र सनम मुलगुठीले नेपाललाई स्वर्ण दिलाएका थिए । विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजीमाथिको तौल र महिला स्विम सुट फिजिक खुला विधामा सनमले स्वर्ण जितेका थिए ।