ग्रेटवाल भत्काएकाे आराेपमा दुईजना पक्राउ

मंगलबार, १९ भदौ, २०८०
डिजिटल संस्करण

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुईजनालाई पक्राउ गरिएको छ।  

उत्तरी सान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएकाे छ।

राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)लाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनसिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन्। सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन्।

३२औँ ग्रेटवाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन्। यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन्। 
 
३२औँ ग्रेटवाल खण्ड मिङ काल (१३६८–१६४४) बाट बाँकी रहेका केही पूर्ण पर्खाल र वाच टावरहरूमध्ये एक हो। यसलाई प्रान्तीय सांस्कृतिक अवशेष स्मारकका रूपमा सूचीकृत गरिएको छ। सन् १९८७ मा चीनको यो विशाल  पर्खाललाई संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा वैज्ञानिक संगठन (युनेस्को)ले विश्व सम्पदास्थलका रूपमा घोषणा गरेको हो। 

सुझावित समाचार