शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन विशेषगरी बिहानको खानामा ध्यान पुर्याउन जरुरी छ । किनभने, दिनभर हामीले गर्ने कामका लागि बिहानको खानाले ऊर्जा प्रदान गर्नुपर्ने हुन्छ । तर, हामीले खाना अघाउनका लागि खाइरहेका हुन्छौँ । बिहान ब्रेकफास्ट गर्दैनौँ । अनि, खाना खानेवेलासम्म धेरै भोक लागेको हुन्छ । एकैपटक धेरै दाल–भात खान्छौँ । त्यसैले बिहानको खाना कस्तो खाने भन्ने जान्न आवश्यक छ ।
- १२ देखि १ बजेको समयमा बिहानको खाना खानु उपयुक्त हुन्छ । कोदो तथा फापरको ढिँडो, मकैको च्याँख्ला, गहुँको च्याँख्ला, ब्राउन राइस, ब्ल्याक राइस खानाको रूपमा खानुपर्छ । खानासँग तरकारी खाइन्छ । खानासँग मौसमअनुसारका सलाद पनि खान सकिन्छ ।
- खानासँगै खाने तरकारी उसिनेर पकाएको राम्रो हुन्छ । उसिनेको तरकारी सय डिग्री फरेनहाइट तापक्रममा पकाइने भएकाले ब्याक्टेरिया मर्छन् । उसिनेको तरकारी तथा परिकारमा ब्याक्टेरिया मर्छन्, तर पोषण तत्व भने नाश हुँदैन ।
- फ्राई गरेको वा भुटेको तरकारी तथा परिकार सकभर नखाएकै राम्रो । तरकारी तथा परिकार तेलमा तार्दा वा फ्राई गर्दा परिकारको पोषणको रूप नै परिवर्तन हुन्छ । तरकारी तथा परिकार भुट्दा वा तार्दा परिकारको पोषक तत्व नष्ट हुने सम्भावना धेरै हुन्छ । तारेका तथा भुटेका परिकार खानु पोषणका हिसाबले गलत हो । चिल्लो, पिरो र मरमसला कम हालेर तरकारी बनाउनुपर्छ ।
- खानासँग दाल पनि खान सकिन्छ । दाल खाँदा भने भातसँग मुछेर नखाँदा नै राम्रो । दाल छुट्टै पिउनु उपयुक्त हुन्छ । दाल–भात एकै ठाउँ मुछेर खाँदा खाना राम्रोसँग चपिँदैन । खाना राम्रोसँग नचपाई निल्दा पाचन प्रक्रियाले काम गर्न सक्दैन । दाँतको कामसमेत हुँदैन । पाचन प्रणालीमा प्रत्यक्ष रूपमा नकारात्मक असर गर्छ, जसले ग्यास्ट्रिकको जोखिम बढ्छ । खाना चपाउँदा पाचन ग्रन्थिबाट र्याल निस्किन्छ । तर, नचपाई खाँदा सो र्याल ननिस्किने भएकाले ग्यास्ट्रिकको जोखिम हुन्छ । त्यसैले चपाएर खाँदा पचाउन सजिलो हुन्छ ।
- खानासँगै पानी पिउँदा पाचन ग्रन्थिबाट निस्किने इन्जाइम पानीले पखाल्ने भएकाले खाना पच्दैन । त्यसैले खानासँग पानी पिउनु त्यति उपयुक्त हुँदैन । खाना खाएको आधा घन्टापछि पानी पिउनु राम्रो हो । सामान्यतयाः दिउँसो शरीर सक्रिय हुने भएकाले अघाउन्जेल खाना खान सकिन्छ । खाना पच्छ पनि । खानासँगै दूध, दही, मही पनि खाएमा लाभदायी हुन्छ ।