९४ वर्ष लागे वारेन बफेट : ११ वर्षको हुँदा सेयर किनेर कारोबार सुरु, १२० अर्ब डलर नेटवर्थ

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

बफेट युनिभर्सिटी अफ नेब्रास्काबाट स्नातक गरेपछि हार्बर्ड बिजनेस स्कुलमा भर्ना गर्न आवेदन दिए । अन्तर्वार्ता पनि भयो । तर, फालिए । त्यसपछि उनी घर गएर बुबालाई के जवाफ दिने भनेर चिन्तित बने ।

वारेन बफेट भन्नासाथ उनको सांगोपांगो तस्बिर दिमागमा आउँछ । यिनलाई नचिन्ने मान्छे सायदै कम होलान् । झन् सेयर बजारमा कारोबार गर्नेले त यिनका किताबदेखि कोटेसनसम्म पढेर तिनलाई पछ्याएको पनि हुनुपर्छ । खैर, जेसुकै होस्, बफेट सेयर बजारका बादशाह हुन्, होसियार लगानीकर्ता हुन् । यिनै बफेटले उमेरको थप एक खुड्किलो पार गरेका छन् । ३० अगस्ट १९३० मा अमेरिकाको नेब्रास्कामा जन्मिएका उनी बुधबारबाट ९३ वर्ष पूरा गरी ९४ लागे । आउनुस्, उनै बफेटबारे केही थाहा पाऔँ । 

११ वर्षमै कारोबारी : ११ वर्षको उमेरमै पहिलो सेयर कारोबार गरेका बफेट अहिले फोर्ब्स रियल टाइम बिलिनियर इन्डेक्सका अनुसार एक खर्ब २० अर्ब  डलरभन्दा बढीका मालिक हुन् । बफेट सेयरका बादशाह मात्रै होइनन्, विश्वकै शीर्ष धनाढ्यमध्येका एक व्यक्तिसमेत हुन् । धनीहरूको सूचीमा उनको स्थान पाँचौँ नम्बरमा छ । उनको आफ्नै बर्कसायर हाथवे नामक कम्पनी छ । आर्थिक वर्ष २०२३–०२४ को दोस्रो त्रैमासमा यो कम्पनीले १० अर्ब ४० करोड डलर सञ्चालन नाफा गरेको छ । 

६५ वर्ष पुरानो घरमा वास : सम्पत्ति कमाएर पनि बफेटको तडकभडक खासै देखिँदैन । सामान्य कमाइ गर्ने मानिस अत्याधुनिक र नयाँ–नयाँ विलासी भवनमा बस्न मन पराउँछन् । तर, यी विश्वकै पाँचौँ धनाढ्य बफेट भने ओमाहास्थित ६५ वर्ष पुरानो घरमा बस्दै आएका छन् । उनले तत्कालीन समयमा उक्त घर ३१ हजार डलरमा खरिद गरेका थिए । 

बफेट घरमा गरेको लगानीलाई उत्कृष्ट लगानीमध्येको एक बताउँछन् । याहु फाइनान्सका अनुसार अहिले बफेटको घरको मूल्य बढेर १४ लाख ३९ हजार अमेरिकी डलर भएको छ । यो पहिले खरिद गरेको तुलनामा ४४ गुणा बढी हो । बफेटका अनुसार घरले खुसी त दिन्छ, तर भाडामा लिनु आर्थिक रूपले धेरै फाइदाजनक छ । सन् २००९ मा बिबिसीसँगको एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘म योभन्दा सुन्दर घरको कल्पना गर्न सक्दिनँ ।’ यसरी हेर्दा बफेटको पोर्टफोलियोमा घर मात्रै अचल सम्पत्ति हो । 

एक अस्वीकृतिले परिवर्तन भएको जिन्दगी : गर्मीको मौसम थियो । बफेट युनिभर्सिटी अफ नेब्रास्काबाट स्नातक गरेपछि हार्बर्ड बिजनेस स्कुलमा भर्ना गर्न आवेदन दिए । त्यसको अन्तर्वार्ता सिकागोको कुनै एक ठाउँमा थियो । उनी पूर्ण तयारीका साथ त्यहाँ पुगे । १० मिनेटसम्म चल्यो अन्तर्वार्ता । तर, उनी अस्वीकृत भए । त्यसपछि उनी आत्तिए । घर गएर बुबालाई के जवाफ दिने भनेर चिन्तित बने । 

तर, यही अस्वीकृतिले उनको जीवन परिवर्तन गरिदियो । हार्बर्डका लागि अयोग्य भएपछि अन्य कुनै विश्वविद्यालयमा भर्ना हुनेबारे सोचे । त्यहीवेला कोलम्बिया बिजनेस स्कुलको क्याटलग हात लाग्यो । त्यहाँ रहेका दुई प्रोफेसरमा उनको नजर अडियो । ती नाम थिए, बेन्जामिन ग्राहम र डेभिड डोड । 

बफेटले उल्लिखित प्रोफेसरद्वारा लिखित किताब ‘सेक्योरिटी एनालाइसिस’ पहिले नै पढेका थिए । त्यसपछि अगस्ट मध्यतिर उनले ती दुवै प्रोफेसरलाई चिठी लेखे । 
‘प्रिय प्रोफेसर डोड ! मलाई लाग्यो, तपाईंहरूको मृत्यु भयो, तर जीवित नै हुनुहुन्छ र कोलम्बियामा पढाउनुहुन्छ भन्ने थाहा पाएँ । म पनि कोलम्बिया आएर पढ्न चाहन्छु ।’

त्यसपछि त के, प्रोफेसरले उनलाई कोलम्बिया बोलाए । विश्वविद्यालयमा प्रोफेसर ग्राहमले लगानीबारे उनलाई दुईवटा नियम सिकाए, जुन उनले सदैव पालना गर्छन् । र, उनै बफेट आज विश्वकै ठूलो लगानीकर्ता बनेका छन् । 

सुझावित समाचार