सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँचजना सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तमा शुक्रबार बिहान संदिग्ध न्यु पिपुल्स आर्मी (एनपिए) विद्रोहीले थापेको विद्युतीय धरापमा परी सरकारी सेनाका पाँच जवानको मृत्यु भएको हो ।
फिलिपिनी सेनाको दक्षिणी लुजोन कमान्डका प्रवक्ता डेनिस कानाले देशका ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएका विद्रोहीविरुद्ध कारबाही गर्न ट्यागकावायन सहरमा गइरहेका वेला उक्त दुर्घटना भएको जानकारी दिए । उनले उक्त क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीलाई अझ सशक्त बनाउन थप सैन्यबल परिचालन गरिएको बताए ।
सन् १९६९ देखि एनपिए विद्रोहीहरू जनसाधारण, सशस्त्र बललगायत सुरक्षा निकायका सदस्यलाई आक्रमण गर्दै आएका छन् । सैन्य तथ्यांकअनुसार एनपिएमा दुई हजारको हाराहारीमा सदस्यहरू छन् ।
सन् ८० को दशकमा यो समूहसँग २० हजार सदस्य आबद्ध थिए । क्रान्तिकारी विद्रोहको माध्यमबाट सत्ता हासिल गर्न सकिन्छ भन्ने कम्युनिस्ट पार्टी एनपिएले ५४ वर्षदेखि सञ्चालन गरेको छापामार युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।