संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कानुनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन्।
बिहीबार अफ्रिकामा जारी सैन्य विद्रोहको हालैका घटनाक्रमहरूमाथि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गत महिना नायजर, २०२२ मा बुर्किनाफासो र त्यसअघिका वर्षहरूमा चाड, गिनी, सुडान र मालीमा ‘सैन्य कु’ भएको थियो। केही दिनअघि मात्रै ग्याबोनामा ‘सैन्य कु’ भएको छ।
गुटेरेसले अफ्रिकामा शान्ति, लोकतान्त्रिक स्थायित्व र सुशासनको प्रवर्द्धनमा निर्णायक भूमिका खेल्न अफ्रिकी युनियनसँग आग्रह गरे। अफ्रिकी जनतालाई यसबारेमा जानकार गराउनुपर्ने उनको धारणा छ।
यस साताको अन्तिममा गुटेरेस केन्यामा हुने अफ्रिका जलवायु शिखर सम्मेलनमा जाँदै छन्। त्यसपछि १३औँ एसियन संयुक्त राष्ट्र शिखर सम्मेलनमा भाग लिन इन्डाेनेसिया जाँदै छन्। त्यसलगत्तै उनी जी– २० शिखर सम्मेलनमा भाग लिन भारत आउनेछन्।
साथै जी– ७७ र चीनको शिखर सम्मेलनका लागि गुटेरेस क्युबा जानेछन्। उनले सो सम्मेलनका क्रममा पनि यसबारेमा विश्वस्तरका नेतासँग छलफल गर्ने उल्लेख गरे।