गुल्मीमा ‘आत्मदाह’को भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

गाडीको टायरमा आगो लगाएर प्रदर्शन गर्ने क्रममा मानिस जलेको भिडियोलाई ‘आत्मदाह’ गरेको भन्दै गलत प्रचार–प्रसार गरेर समाजमा भ्रम पैदा गर्नेहरूलाई प्रहरीले कारबाही गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न माध्यमबाट आत्मदाहको गलत प्रचार गर्नेहरूलाई कारबाही अगाडि बढाएको छ ।

केही दिनअघि गुल्मी अस्पतालमा उपचारका क्रममा अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका– ७ भगवती काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो।  चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल र प्रशासनपरिसरमा नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका थिए ।

सोही क्रममा टायरमा पेट्रोल छर्किएर आगो लगाउने क्रममा जलेर तीन युवा घाइते भएका थिए । तीमध्ये एकजना जलेर गम्भीर भएका छन् । टायरमा पेट्रोल छर्किएर बाल्ने क्रममा एक्कासि आगो शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका- ७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नम्बर ८ का कृष्ण पौडेल जलेर घाइते भएका थिए ।

सोही भिडियोलाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले समेत पेजमार्फत ‘न्याय नपाएपछि युवाले गरे आत्मदाह’ भन्दै गलत प्रचार गरेका थिए । जसका कारण बुधबार प्रहरी र प्रशासनले निकै सास्ती खेप्नुपरेको थियो । भिडियाे देखेपछि गृह मन्त्रालय, प्रहरीका माथिल्ला निकायदेखि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले समेत निगरानी र चासो देखाएका थिए ।

प्रशासनकै अगाडि आत्मदाहको गतल समाचार बाहिरिएपछि आफूहरूलाई माथिल्लो निकायबाट थुप्रै फोन र स्पष्टीकरण सोधिएकाले जागिरकै चुनौती भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गुनासो गरे । ‘गलत प्रचारले हाम्रो जागिर नै धरापमा पर्ने देखियो । केही सञ्चारमाध्यमले समेत गलत समाचार लेखे,’ गैरेले भने, ‘गलत प्रचार गर्नेहरूलाई निगरानी गरेर कारबाही गर्न प्रहरीलाई भनेका छौँ ।’ 

प्रहरीले बुधबार र बिहीबार दिनभर विभिन्न सामाजिक सञ्जालहरूको निगरानी गर्यो । सोही क्रममा दुई मिडियाका पेज र एक व्यक्तिलाई पत्ता लगाएर माफी मगाउने र खण्डन गर्न लगाउने काम भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविककिशोर प्रधानले जानकारी दिए । 

सैपाल एफएम बझाङको पेज, वीर गोर्खाली टिभी र गुल्मीकै व्यवसायी अर्जुन कार्कीले युवा जलेको भिडियोलाई अतिरञ्जित गरेर ‘आत्मदाह’ भनेर गलत प्रचार गरेको प्रहरी उपरीक्षक प्रधानले बताए । 

यस्तो गलत सूचनाले स्वयं पीडितलाई थप पीडा दिएको छ । नियामक निकायहरूले स्पष्टीकरण र सास्ती खेप्नुपरेको छ । यस्तो गलत प्रचारले आमनागरिकमा निराशा पैदा गर्ने भएकाले भ्रामक समाचार सार्वजनिक नगर्न प्रहरी उपरीक्षक प्रधानले सबैमा अनुरोध गरेका छन् । 

See More On

सुझावित समाचार