एसिया कप : नेपाल फराकिलो अन्तरले पराजित

पाकिस्तान ३४२/६, नेपाल १०४/१०, २३.४ ओभर

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण
एसिया कप : नेपाल फराकिलो अन्तरले पराजित

१६औँ एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध विकेट लिएपछि नेपाली खेलाडी

१६औँ एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन खेलमा नेपाल दुई सय ३८ रनको विशाल अन्तरले पराजित भएको छ । एकदिवसीय क्रिकेट इतिहासमै नेपालको हार १६औँ ठूलो जितअन्तर हो । यो नेपालको एकदिवसीय खेलको इतिहासकै सबैभन्दा खराब हारसमेत हो । यसअघि नेपाल वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । पञ्जाबको मुल्तान रंगशालामा आयोजक र विश्वकै एक नम्बर एकदिवसीय टोली पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ४३ रन बनाएको थियो । 

नेपालविरुद्ध कुनै पनि टोलीले एकदिवसीय खेलमा बनाएको यो उच्च योगफल हो । एकदिवसीय विश्वकप ग्लोबल छनोटमा वेस्ट इन्डिजले नेपालविरुद्ध ३ सय ३९ रन जोडेको थियो । नेपालले आफ्नो ५० ओभरको फम्र्याटमा कीर्तिमानी लक्ष्य पछ्याउँदा २३.४ ओभरमा १ सय ४ रनमा अलआउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले ४६ बलमा चार चौका प्रहार गरेका थिए । वर्तमान समयकै विश्वका तीव्र गतिका बलर साहिन साह अफ्रिदीको घातक बलिङ सामना गर्न नसक्दा नेपाल इनिङ्सको १.४ ओभरमा १४–३ को दयनीय अवस्थामा थियो । त्यसपछि आरिफ शेख र सोमपालले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरे । दुवैले ७८ बलको सामना गरेका थिए । 

१४.४ ओभरमा हरिस रौफले आरिफलाई क्लिन बोल्ड गरे । उनले ३८ बलमा पाँच चौका प्रहार गरी २६ रन बनाए । सोमपाल र आरिफबाहेक अन्य कुनै पनि नेपाली ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । यसअघि अफ्रिदीले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । ओपनर कुशलले अफ्रिदीको पहिलो ओभरमा दुई चौका प्रहार गरेका थिए । तर, कुशलले अनावश्यक सट खेल्दा आफ्नो विकेट गुमाए । कप्तान रोहितकुमार पौडेलले सामना गरेको पहिलो बलमै गोल्डेन डट आउट भए ।  नेपालका गुलसन झा १३ रन, दीपेन्द्रसिंह ऐरी तीन रन, कुशल मल्लले ६ रन बनाए । पूर्वकप्तान सन्दीप लामिछाने र ललित राजवंशी डक आउट भए । अन्तिममा करण केसी सात रनमा नट आउट रहे । पाकिस्तानका लागि सादब खानले ६.४ ओभरमा २७ रन खर्चेर चार विकेट लिए । अफ्रिदीले पाँच ओभरमा २७ रन खर्चेर २ विकेट लिए । 

 २ सय १४ रनको साझेदारी
पहिलोपटक एकदिवसीय खेलमा नेपालको सामना गरेको पाकिस्तानका अनुभवी चार ब्याट्सम्यान १२४ रनको अवस्थामा पेभेलियन फर्कंदा संकटमा थियो । कप्तान बाबर र इफ्तिखारले पाँचौँ विकेटका लागि अविस्मरणीय साझेदारी गरे । दुवैले पाकिस्तानलाई १२४–४ बाट ३३८/५ को बलियो स्थितिमा पुर्‍याए । उनीहरूका कारण नेपालले आफ्नो हातबाट खेल गुमाउन बाध्य भयो । 

यसअघि नेपालले पाकिस्तानमाथि पूर्ण रूपले नियन्त्रण राखेको थियो । दुवै ब्याट्सम्यानले २७.५ देखि ४९.४ ओभरसम्म साझेदारीका क्रममा दुवैले एक सय ३१ बलमा प्रतिओभर ९.७७ रन बटुलेका थिए । सोमपालले पाँचौँ विकेटका लागि भएको २१४ रनको साझेदारी तोड्न सफल भए । तर, नेपालका लागि निकै ढिलो भइसकेको थियो । सोमपालले सन्दीप जोराबाट बाबरलाई क्याचआउट गराएका हुन् ।

बाबरले एक सय ५१ रन बनाउन एक सय ३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरेका थिए । यो उनको दोस्रो सर्वाधिक एकदिवसीय व्यक्तिगत रन हो । इफ्तिखार ११ चौका र चार छक्काको सहयोगमा एक सय ९ रनमा अविजित रहे । बाबर र मोहमद रिजवानबीच तेस्रो विकेटका लागि ८६ रनको साझेदारी भयो । पहिलोपटक एसिया कपमा सहभागी नेपालले एकदिवसीय क्रिकेटकै नम्बर एक राष्ट्र पाकिस्तानलाई पहिलो पावर प्लेमा रोकेको थियो । 

 २४० रनमा रोक्ने लक्ष्य थियो
रोहितकुमार पौडेल, कप्तान, नेपाल

विश्वकै नम्बर एक राष्ट्र पाकिस्तानलाई दुई सय ४० रनमा रोक्ने योजना थियो । हामीले सुरुवात निकै राम्रो ग¥यौँ । त्यसलाई निरन्तरता दिन सकेनौँ । खेलको मध्यक्रममा बलरले विकेट लिने बल नै फ्याँक्न सकेनन् । यसको श्रेय बाबर र उनको टोलीलाई जान्छ । बाबरले नै पाकिस्तानको इनिङ्स अगाडि बढाए । यस खेलबाट हामीले धेरै पक्ष सिक्ने अवसर पायौँ । प्रत्येक खेलमा हामीले केही न केही सिकिरहेका छौँ । हामीले अझै डेथ ओभरमा राम्रो गर्नुपर्छ । ब्याटिङमा हामीले राम्रो गर्न सकेनौँ । हामीले हरेक बलमा राम्रो गर्न प्रयास गर्नुपर्छ । 

 साझेदारी नै जितको आधार बन्यो
बाबर अजाम, कप्तान, पाकिस्तान

नेपाली बलरले सुरुवातमा हामीमाथि दबाब राखे । व्यक्तिगत रूपमै केही बलमा मसमेत समस्यामा परेको थिएँ । बिस्तारै रिजवान र इफ्तिखारबीच साझेदारी भयो । साझेदारीका क्रममा विपक्षीको कमजोरीअनुसार योजना बनायौँ । रिजवानले मलाई आत्मविश्वास दिलाए । आज हामीले फरक क्रिकेट खेल्यौँ । इफ्तिखारले मलाई राम्रो साथ दिए । दुवैले सामान्य खेल खेल्ने योजना बनायौँ । जसका कारण हामीले पूरै समय खेल्यौँ । यो खेल हामीलाई विश्वकपअघि राम्रो तयारी भएको छ । भारतसँग खेल्न आत्मविश्वास दिएको छ । हामी हरेक खेलमा शतप्रतिशत दिन्छौँ । हरेक खेल राम्रो गर्छौं । 

 ब्याटिङक्रम स्तब्ध भयो
पवन अग्रवाल, पूर्वकप्तान, नेपाल

हामीले पहिलो इनिङ्समा आशा गरेजस्तै पाकिस्तानलाई दबाबमा राख्यौँ । सुरुमै विकेट आयो । दुई विकेट लिएका पनि हौँ । बाबर आजमजस्तो विश्व नम्बर एकलाई दबाबमा राखेका थियौँ । एकदमै राम्रो थियो । उनीहरूले नै राम्रो गरे । बाबरले आफू एकदिवसीय खेलमा नम्बर एक हो भनेर प्रमाणित गरे । उसले अन्तिमसम्म टोलीलाई अगाडि बढाए । दोस्रो इनिङ्स स्तब्धपूर्ण रह्यो । उनीहरूको बलिङ राम्रो छ भन्ने थियो । आसिफ र कप्तान रोहित राम्रो बलमा आउट भए । सोमपाल र आरिफमा अनुभवी देखिएन । 

बाबरको कीर्तिमानी शतक
पाकिस्तानका कप्तान बाबर आजमले एकदिवसीय क्रिकेटमा कीर्तिमान राखेका छन् । उनले नेपालविरुद्धको खेलमा शतकीय इनिङ्स खेलेका हुन् । उनले आफ्नो एकदिवसीय करिअरकै १९औँ शतक पूरा गरेका हुन् । एक सय दुई इनिङ्समा १९ शतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि दक्षिण अफ्रिकाका हसिम अमलाले एक सय चार इनिङ्समा १९ शतक बनाएका थिए । भारतका पूर्वकप्तान विराट कोहलीले एक सय २४ इनिङ्स एकदिवसीय खेलमा १९ शतक लगाएका थिए । 

५० ओभरको फम्र्याटमा कीर्तिमानी शतक पार गर्न बाबरले केवल एक सय नौ बल खेले । यसक्रममा उनले १० चौका प्रहार गरेका थिए । डेथ ओभरमा नेपाली बलरमाथि पूरै हावी भएका बाबरले व्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । करण केसीले आफूले नै गरेको ओभरमा बाबरलाई कट एन्ड बोल्ड गर्न मिस गरे । एक जीवनदान प्राप्त गरेका बाबरले त्यसपछि आक्रामक रूपमा ब्याटिङ गरेका थिए । 

रिभ्यु लिने पहिलो नेपाली खेलाडी रोहित
एकदिवसीय क्रिकेटमा नेपालका लागि रिभ्यु लिने कप्तान रोहित पहिलो खेलाडी बनेका छन् । उनले पाकिस्तानमा बुधबारदेखि सुरु भएको १६औँ संस्करणको एसिया कपमा घरेलु टोलीविरुद्ध रिभ्यु लिएका हुन् । ओपनर कुशल आउट भएपछि क्रिजमा आएका उनले पहिलो ओभरमै रिभ्यु मागेका थिए । वर्तमान समयकै तीव्र गतिका बलर साहिनले ०.६ ओभरमा रोहितलाई एलबिडब्लू आउट गरेका थिए । एलबिडब्लू हुनुअघि रोहितले थर्ड अम्पायरसँग रिभ्यु मागेका थिए । तर, उनी सफल भएनन् । नेपालले पाकिस्तानविरुद्ध बलिङ गर्दा कुनै रिभ्यु लिएको थिएन । यसअघि नेपालले खेलेका ५२ एकदिवसीय खेलमा रिभ्यु उपलब्ध थिएन ।

गुल्सन सबैभन्दा खर्चिलो बलर
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एसिया कपमा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा राखेका गुल्सन झा पाकिस्तानविरुद्ध सर्वाधिक खर्चिलो भए । उनले केवल चार ओभरमा ३५ रन खर्चे । उनी विकेटविहीन भए । उनले प्रतिओभर ८.७५ रनमा बलिङ गरे । पाकिस्तानी ब्याट्सम्यानले गुल्सनविरुद्ध समान एक चौका र छक्का प्रहार गरे । नेपालका लागि फास्ट बलर सोमपाल कामीले दुई विकेट लिए । उनले १० ओभरमा दुई विकेट हात पार्न ८५ रन खर्चिए । सोमपालले सदाव खान र कप्तान बाबरको विकेट लिए । सोमपालको बलिङमा पाकिस्तानी खेलाडीले १० चौका र तीन छक्का प्रहार गरे । 

नेपालका लागि सन्दीप लामिछाने तेस्रो महँगा बलर भए । उनले १० ओभरमा ६९ रन खर्चेर एक विकेट हात पारे । उनले अघ सलमानको विकेट लिए । सन्दीपविरुद्ध पाकिस्तानी ब्याट्सम्यानले ६ चौका र दुई छक्का प्रहार गरे । ललित राजवंशीले पाकिस्तानी ब्याट्सम्यानविरुद्ध कसिलो बलिङ गरे । उनले १० ओभरमा ४८ रन मात्र दिए । उनले प्रतिओभर ४.१० ओभरमा बलिङ गरेका थिए । पाकिस्तानका ब्याट्सम्यानले ललित र कुशल भुर्तेलविरुद्ध मात्र छक्का प्रहार गर्न सकेनन् । 

सुझावित समाचार