सामान्य अवस्थामा प्रतिमिनेट झन्डै १२ देखि २० पटकसम्म आँखा झिम्किरहेको हुन्छ । तर, हामीले टिभी वा ग्याजेटअगाडि बस्दा लामो समयसम्म आँखा झिम्किरहेको हुँदैन । मिनेटमा एक वा दुईपटक मात्रै झिम्किन्छ । जो आँखाको स्वास्थ्यका लागि हानिकारक छ । यसले आँखालाई सुक्खा बनाउँछ ।
घन्टौँसम्म टिभी वा ग्याजेटअगाडि बस्नुहुन्छ वा कार्यालयको काम गर्नुहुन्छ भने तपाईंले आँखाको सुरक्षाका लागि ‘२०–२० नियम’ फलो गर्न सक्नुहुन्छ । यस नियमले २० मिनेट कम्प्युटरमा बसेपछि तपाईंले २० सेकेन्ड आँखा चिम्लनु वा २० फिट टाढा हेर्नुपर्छ ।
आँखा सुक्खा हुने, आँखाको आयल क्याप वा ग्रन्थी ब्लक हुने समस्या कम गर्न तपाईंले आई मसाज पनि गर्न सक्नुहुन्छ । त्यस्तै, चिकित्सकको सल्लाह लिएर मलम लगाउने, आई ड्रप प्रयोग गर्ने तातो पानीले सेक्ने पनि गर्न सक्नुहुन्छ ।
मोबाइलको असरलाई कम गर्न ब्लु कट लेन्स पनि युज गर्न सकिन्छ । मोबाइलबाट आउने ग्रिन रेलाई यसले कम गर्छ । १०० प्रतिशत ब्लक नगरे पनि ९० प्रतिशतभन्दा धेरै ब्लक गर्छ ।
एसी वा फ्यान पनि सीधै आँखाकै अगाडि प्रयोग गर्न हुँदैन । यसले पनि आँखा सुक्खा गराउँछ । भिटामिनयुक्त खाना, जस्तै– हरियो सागसब्जी÷गाँजर खाने गर्नुपर्छ । यसको कमीले पनि आँखा कमजोर हुन्छ । बच्चा र वृद्धवृद्धाले धेरैभन्दा धेरै झोलिलो खानेकुरा लिनुपर्छ । यसले आँखालाई हाइड्रेट गर्ने तथा आँखाका माध्यमबाट शरीरभित्र छिरेका टक्सिन पार्टिकललाई बाहिर निकाल्ने काम गर्छ ।
थाइराइड भएकाहरूमा पनि आँखा सुक्खा हुन्छ । थाइराइड चेक गर्ने र नियमित औषधि खाने गर्नुपर्छ । प्रेसर, पार्किन्सन रोगको औषधि खाइरहेकामा पनि आँखा सुक्खा हुने समस्या देखिन्छ । यसलाई रोक्न सकिन्न, तर औषधि प्रयोग गरेर कम गर्न सकिन्छ ।
पानी र निद्राको कमीले डार्क सर्कल पनि देखा पर्न सक्छ । यसका लागि पर्याप्त निद्रा पुर्याउने, पानी खाने र चिसोले आँखा सेक्ने गर्नुपर्छ । चिकित्सकको सल्लाहमा कालो घेरा हटाउने मलम पनि लगाउन सकिन्छ ।
कोठामा पनि हामीले थाहा नपाउने गरी विकिरणहरू आइरहेका हुन्छन् । त्यसलाई कम गर्नका लागि हामीले ह्युमिडिफायर प्रयोग गर्न सक्छौँ । यो उपकरणले कोठामा हावाको आद्र्रता बढाएर सुक्खापन हटाउने गर्छ ।