निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सिर्जना गरौँ : प्रमुख निर्वाचन आयुक्त

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सिर्जना गर्नुपर्ने बताएका छन्।

आमनागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुने गरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकारसमक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताए। सोमबार निर्वाचन आयोगले काठमाडौंमा गरेको छलफलमा उनले सो विधेयकको मस्यौदामाथि आमबहसको विषय बनाउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सञ्चारकर्मीसहित सम्बन्धित पक्षलाई आग्रह गरे।

‘निर्वाचन गतिलो भयो भने मात्रै निर्वाचनमा सदाचारिता कायम गर्न सकियो भने मात्रै हामीले खोजेको सुशासन प्राप्त हुन सक्छ भन्ने ध्येयका साथ यो ऐनको मस्यौदा तयार गरेर यो विधेयकको मस्यौदा तयार गरेर हामीले पेस गरेका छौँ। त्यसकारण यसलाई छिटो, छरितो रूपमा पारित गर्नको निम्ति, गुणात्मक सुधारका लागि सकारात्मक हस्तक्षेप गर्नुपर्छ भन्ने उद्देश्यका साथ तपाईंहरूको एउटा सकारात्मक दबाब चाहियो,’ उनले भने।

मस्यौदामा ‘भोट हाल्दिनँ’ भन्ने नागरिकको अधिकारलाई पनि सुनिश्चित हुने गरी मतपत्रमै भोट हाल्दिनँ भन्ने संकेतसहितको चुनाव चिह्न पनि समावेश गर्ने प्रस्ताव गरिएको थपलियाले जानकारी दिए। ५० प्रतिशतभन्दा बढी मतदाताले कुनै उम्मेदवारलाई मत हाल्दिनँ भन्ने चिह्नमा मत हाले उसको उम्मेदवारी स्वतः रद्द हुने व्यवस्था मस्यौदामा उल्लेख गरिएको जानकारी दिए।

सुझावित समाचार