एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रिय रूपमा सहभागी हुने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध गर्यो भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमित रूपमा भाग लिने बताएका हुन्।

उनले भने, ‘प्रतिनिधिसभा हाम्रा लागि प्रिय छ। हाम्रो आवाज उठाउन नदिएपछि संसद्को बैठक बस्न नसकेको हो। अवरुद्ध संसद् खुलाउन आज प्रधानमन्त्रीज्यूले जुन पहल लिनुभयो। संसद्मा प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापतिलगायतका अन्य दलका नेताले संसद्को भूमिका र गरिमा जोगाउन भूमिका खेल्नुभयो, म उहाँहरूको प्रशंसा गर्न चाहन्छु।’

सचिव भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्नेमा जोड दिए। 

एमाले सचिव भट्टराईले काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस आज त्रिशूली नदीमा दुर्घटनाग्रस्त हुँदा दर्जन बढी व्यक्तिको निधन भएको तथा गएको साउन महिनामा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट दर्जनौँ संख्यामा नेपालीको निधन भएको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए। 

सुझावित समाचार