अमेरिका–इरानबीच कैदी आदान–प्रदान र सम्पत्ति फुक्का गर्ने सहमति

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

इरान र अमेरिकाबीच कैदीबन्दी आदान–प्रदान र इरानको रोक्का गरिएको सम्पत्ति फुक्का गर्ने सहमति भएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कानानीले तेहरान र वासिंगनबीच कैदी आदान–प्रदान र इरानको रोकिएको सम्पत्ति फिर्ता गर्ने सम्झौता कार्यान्वयनका लागि दुई महिनाको समय निर्धारण गरिएको जानकारी दिएका हुन्। सम्झौता कार्यान्वयन राम्रोसँग हुने र यो निर्धारित समयसीमाभित्र पूरा हुने आशा गरेको उनको भनाइ छ।

इरानमा सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र महासभाको ७८औँ सत्रभन्दा अघि अन्य कुनै स्थानमा संयुक्त राज्य अमेरिकासँग छलफल गर्ने योजना नरहेको प्रवक्ता कानानीले बताए। उनले इराकलाई ग्यास र बिजुली निर्यातसँग सम्बन्धित इरानको कोषको केही भाग हस्तान्तरण गर्ने प्रक्रिया पूरा भएको र यस प्रक्रियालाई गम्भीरताका साथ अघि बढाउने पनि उनले उल्लेख गरे।

अगस्टको सुरुवातमा इरान र अमेरिकाले तेस्रो देशको मध्यस्थतामा एक सम्झौता गरेको बताइएको थियो। जसअन्तर्गत दुई पक्षले मानवीय मुद्दाको रूपमा कैदीहरू आदान–प्रदान गर्ने र अमेरिकाद्वारा विभिन्न स्थानमा अवैध रूपमा अवरुद्ध गरिएका इरानी सम्पत्तिहरू छोड्ने सहमति भएको थियो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

सुझावित समाचार