शरीर स्वस्थ राख्नका लागि पानी प्रशस्त पिउनुपर्छ । पानीको कमी हुँदा डिहाइड्रेसन हुन सक्छ, मुड परिवर्तन हुने, अत्यधिक गर्मी महसुस हुने, कब्जियत र किड्नीमा समस्या देखिनेसमेत हुन सक्छ ।
औसतमा एउटा मानिसले दैनिक दुईदेखि तीन लिटर पानी पिउन जरुरी छ । यद्यपि, व्यक्तिको उमेर, शारीरिक सक्रियता, मौसम र समग्र स्वास्थ्यअनुसार यसमा फरक पर्न सक्छ । एकैपटक धेरै पानी पिउने गर्नु पनि हुँदैन । थोरै–थोरै गरेर आवश्यकताअनुसार दैनिक कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउनुपर्छ । पानीको कमी हुँदा तिर्खा लाग्छ, पिसाब पहेँलो हुन्छ । पिसाब पहेँलो भएको छैन भने पानी पुगेको छ भनेर बुझ्नुपर्छ । अत्यधिक गर्मी भएका वेला, पसिना धेरै बगेको वा शरीर अत्यधिक सक्रिय भएको वेला आवश्यकताअनुसार पानीको मात्रा पनि बढाउनुपर्छ ।
तापमान नियन्त्रणमा राख्न, पाचनतन्त्र बलियो बनाउन, अंगहरूलाई सक्रिय बनाउन, हाडजोर्नीलाई नरम बनाउन, सेल्सहरूमा पोषण पु¥याउन, शरीरमा काम नलाग्ने पदार्थलाई बाहिर निकाल्न शरीरमा पानीको मात्रा पर्याप्त हुनुपर्छ । पानीको कमीले मुख सुक्खा हुने, बान्ता हुने, ज्वरो आउने, टाउको दुख्ने, पेटको समस्या देखिने आदि समस्या देखिन सक्छ ।
विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन र मिर्गौलामा समस्या देखिन सक्छ । त्यस्तै, पानीको कमीले ब्लडप्रेसर घटेर मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिन सक्छ ।
के गर्ने ?
- पानी खाइरहने । दिनमा पटक–पटक गरेर कम्तीमा दुईदेखि तीन लिटरसम्म पानी पिउने । जुस र फलफूल खाने ।
- अल्कोहलजन्य खानेकुरा नखाने ।
- अन्य थप समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम गर्ने ।