एसियनस्तरको ब्याडमिन्टन आजदेखि

शुक्रबार, १ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल ब्याडमिन्टन संघले पहिलोपटक एसियन स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । संघको आयोजनामा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ब्याडमिन्टनको विकासोन्मुख राष्ट्रहरूमा यस खेलको प्रवर्द्धन र प्रतिस्पर्धा गर्ने उद्देश्यअनुरूप एसिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा राखेको हो । प्रतियोगिता १–५ भदौसम्म हुनेछ । जसमा यू–१५ र यू–१७ दक्षिण एसिया रिजनल च्याम्यिनसिपमा गर्ने संघले जनाएको छ । 

च्याम्पियनसिपमा यू–१५ र यू–१७ उमेरसमूहमा दक्षिण एसियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता एपिएफको मुख्यालयमा रहेको एपिएफ क्लबमा हुनेछ । यस च्याम्पियनसिपमा यू–१५ तर्फ महिला एकल, पुरुष एकल र पुरुष जोडी समावेश गरेको जनाएको छ । यू–१७ मा पनि महिला एकल, पुरुष एकलसँगै जोडी र मिक्स इभेन्ट्स समावेश भएको संघले बतायो । 

ओलम्पिक छात्रवृत्तिको छनोट
यी दुवै उमेरसमूहमा टिम प्रतिस्पर्धा पनि छन् । आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने एसिया ब्याडमिन्टनकी इभेन्ट म्यानेजर एनजिएन मुनले जानकारी दिए । नेपाल आयोजक राष्ट्र भएकाले १६ खेलाडी खेलाउन पाउने भएको छ ।मुनले एसियामा रहेका ब्याडमिन्डनको अल्पविकसित राष्ट्रमा यस किसिमका कार्यक्रम सुरु गरिएको बताए । 

व्यक्तिगत स्पर्धामा आयोजक राष्ट्रबाट तीन खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य राष्ट्रका भने दुई खेलाडीको प्रतिस्पर्धा गर्न पाउने प्रावधान बनाएको छ । नेपालमा यो पहिलो रहेको र आगामी कार्यक्रम कम्बोडियामा हुनेछ । यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि पनि छनोट गरिनेछ । एसियाभरबाट २० जना छनोट हुने, जसमा प्रत्येक देशबाट समान एक पुरुष र महिला समावेश हुनेछन् । 

छनोट भएका खेलाडीले ब्याडमिन्टनको पावरहाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिता सुरुमा पाकिस्तानमा हुने तय भएको बताए । नेपालको आग्रहमा प्रतियोगिता आयोजना गर्ने अवसर पाएको उनले बताए । च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै फाइदा लिने उनको भनाइ छ । 

सुझावित समाचार