सप्तरी जिससका इन्जिनियरलाई भ्रष्टाचार मुद्दामा तीन महिना सजाय, अन्य दुईलाई जरिवाना

बिहिबार, ३२ साउन, २०८०
डिजिटल संस्करण

विशेष अदालतले जिल्ला समन्वय समिति सप्तरीका एक इन्जिनियरसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस मुद्दाका अन्य चार प्रतिवादीलाई भने सफाइ दिने फैसला भएको छ । 

बिहीबारको इजलासले इन्जिनियर विकास श्रेष्ठलाई कसुरदार ठहर गर्दै तीन महिना कैद सुनाएको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार विकासलाई दुईवटा मुद्दामा तीन–तीन महिना कैद तोकिएको छ भने इजलासले जरिवानासमेत निर्धारण गरेको छ । 

विशेषले इन्जिनियर विकास श्रेष्ठले भ्रष्टाचार निवारण ऐनको दफा १९(२) बमोजिम गलत प्रतिवेदन दिएको र दफा ८(१)(ग) बमोजिमको कसुर गरेको भन्दै दुवै कसुरमा तीन–तीन महिना कैद हुने फैसला गरेको हो । साथै, चार लाख ९९ हजार ६६५ रुपैयाँ जरिवानासमेत तिराउने फैसला गरेको छ । 

आर्थिक वर्ष ०७३-७४ मा राजविराजस्थित राज रंगशालामा स्तरोन्नति कार्यमा मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले २९ असार ०७९ मा सातजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । जसमध्ये तीनजनाले कसुर गरेको विशेष अदालतको फैसला छ । 

जिल्लाको खेलकुद विकास समिति र उदय निर्माण सेवाबीच भएको सम्झौतामा निर्धारित सर्त तथा मापदण्डविपरीत कार्य भए पनि जिससका इन्जिनियर श्रेष्ठले उक्त कार्य गुणस्तरीय र मापदण्डबमोजिम भएको भनी प्रमाणित गराएका थिए । उनले नै भएकोभन्दा बढी काम भएको भनी सिफारिस गरेपछि सरकारलाई लाखौैँको क्षति भएको दाबी अख्तियारले गरेको थियो । 

यसैगरी, दुई निर्माण कम्पनीका सञ्चालकसमेत यसमा दोषी ठहर भएका छन् । यद्यपि उनीहरूलाई बिगो भराउने र जरिवाना तिराउने फैसला मात्रै भएको विशेषले जनाएको छ । 

विशेषका अधिकृत रेग्मीका अनुसार न्यू गाहिल कन्स्ट्रक्सनका सञ्चालक भीमराज यादव र उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई जनही अढाई लाख रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ । उनीहरूले ऐनको दफा ८(४) बमोजिम कसुर गरेको ठहर इजलासको छ । 

यादवलाई दुई लाख ६३ हजार चार सय ६८ जरिवाना र उति नै रकम असुलउपर गर्ने तथा श्रेष्ठलाई दुई लाख ३६ हजार एक सय ९७ रुपैयाँ जरिवाना र असुलउपर गर्ने फैसलामा उल्लेख छ । 

यसै मुद्दाका प्रतिवादीहरू खेलकुद विकास समितिका अध्यक्ष एजेन्ट न्यासुर, उपाध्यक्ष धीरेन्द्र बर्मा, समितिका तत्कालीन कार्यालय प्रमुखहरू महेन्द्रप्रसाद यादव र लक्ष्मण मण्डललाई विशेषले सफाइ दिएको छ । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल र बलभद्र बाँस्तोलाको इजलासले यस्तो फैसला गरेको हो । अख्तियारले मुद्दा चलाएको एक वर्षमा विशेषले आंशिक ठहर हुने फैसला गरेको हो । 

जिल्ला खेलकुद विकास समिति सप्तरीद्वारा राजविराज नगरपालिकास्थित राज रंगशाला खेलमैदानको स्तरोन्नति कार्यका लागि विनियोजित रकममा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । 

अनुसन्धानका क्रममा आर्थिक वर्ष ०७३-७४ मा बजेटबराबरको काम नै नगरी फिल्डमा भएकोभन्दा बढी काम देखाई कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको भेटिएको थियो । जसपछि अख्तियारले मुद्दा चलाएको हो ।

सुझावित समाचार