टर्कीको ठूलो सहर इस्तानबुलका मेयर इक्रेम इमामोग्लुले खडेरीको सामना गर्नका लागि पानी बचत गर्न आह्वान गरेका छन्।
बुधबार नागरिकहरूलाई सुक्खायामका कारण पानीको अभाव भएको भन्दै पानीको बचत गरी भविष्यमा आउन सक्ने समस्यालाई समाधान गर्न आह्वान गरेका हुन्। इस्तानबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँधको भण्डारण दर गत वर्षको अगस्टमा ६१.८७ प्रतिशत थियो। जुन हालको भन्दा झन्डै दोब्बर हो।
अहिले घटेर पानी जम्मा ३३.३७ प्रतिशत मात्रै जम्मा भएको छ । इस्तानबुल वाटर एन्ड सिवरेज एडमिनिस्ट्रेसन (आइएसकेआई)को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झन्डै आधाले कम जम्मा भएको छ।
सहरका लगभग एक करोड ६० लाख नागरिकलाई आइएसकेआईले पानी बचत गर्ने उपायहरूको सूचीसमेत सिफारिस गरेको छ। जसमा बिग्रिएका धाराहरूबाट पानी खेर जान नदिनका लागि मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र आफ्ना सवारीसाधनहरू सफा गर्दा बाल्टीमा पानी राखेर सफा गर्नेलगायतका उपायहरू सुझाएको छ। जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी बचत गर्न सक्ने बताइएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल