बिदाको समय घुम्नका लागि निस्कने नेपालीहरूको जमात बढ्दो छ । ट्रेकिङ, क्लाइम्बिङ, र्याफ्टिङलगायत गतिविधिमा नेपाली आकर्षित हुन थालेका छन् । वर्षाको समय घुमघामका लागि उपयुक्त सिजन होइन । र्याफ्टिङजस्ता साहसिक खेलका लागि पनि यो सिजन उपयुक्त मानिदैन ।
तर, यसका बाबजुद पनि र्याफ्टिङ गर्नेको संख्या उस्तै रहेको नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीले बताए । सतर्कताका उपाय अपनाएर मनसुनमा पनि र्याफ्टिङको मज्जा लिन सकिने उनले बताए ।
उनी भन्छन्, ‘नेपालीहरू वर्षात्को समय भनेर बसेका छैनन् । शुक्रबार र शनिबार त्रिशूली र भोटेकोसीका क्याम्पहरू आन्तरिक पर्यटकले भरिभराउ हुन्छ । कम्तीमा तीन–चार सय पर्यटक क्याम्पमा हुन्छन् ।’ अन्तरिक पर्यटकको संख्या बढे पनि र्याफ्टिङ गराउने कम्पनीको संख्या भने घटिरहेको उनी बताउँछन् ।
विदेशी पर्यटकको संख्या घटेकाले यस्तो परिस्थिति निम्तिएको उनले बताए । ‘पछिल्लो समय झन्डै ५० प्रतिशत र्याफ्टिङ कम्पनी बन्द भएका छन् । विदेशीको संख्या घटेकाले यस्तो भएको हो । र्याफ्टिङमा रमाउने स्वदेशीको संख्या भने बढ्दो छ ।’
काठमाडौंनजिक पर्ने भएकाले पनि त्रिशूली र भोटेकोसी नदीमा र्याफ्टिङको विशेष चहलपहल हुने गरेको रिभर गाइड अच्युतकुमार गौतम बताउँछन् । पानीको बहाव बढ्ने भएकाले यस समय विशेष सावधानी अपनाउनुपर्ने उनले बताए । ‘वर्षायाममा नदीमा यसै पनि बहाव बढी हुन्छ, त्यसमाथि नदीको शिरमा ठूलो पानी पर्दा अकस्मात् आउने बाढीका कारण जोखिम पक्कै हुन्छ । त्यस्तै, जोखिमबीच पनि सुरक्षित कसरी हुने भन्नेबारे तपाईंले रिभर गाइडको निर्देशन मान्नुपर्ने हुन्छ,’ उनले भने।
र्याफ्टिङ गर्नुअघि...
- पानीको बहाव कुनै पनि समय घट्न–बढ्न सक्छ । पानीको अवस्था हेरेर मात्रै र्याफ्टिङ गर्नुपर्छ ।
- र्याफ्टिङ बुकिङ गर्ने व्यवासायीले पनि मेरो ग्राहक कस्तो छ ? एड्भेन्चर गर्न सक्छ, शारीरिक रूपमा कतिको तन्दुरुस्त छ भन्नेबारे बुझ्नुपर्छ । ग्राहकलाई बुझाएर मात्रै र्याफ्टिङ गराउनुपर्छ ।
- कतिपयले कमाउनका लागि सस्तो प्याकेज पनि दिइरहेका हुन्छन् । बजारमा अन्य कम्पनीभन्दा निकै सस्तो प्याकेज बेचिएको रहेछ भने त्यसको गुणस्तरमा पनि शंका उत्पन्न हुन्छ ।
- र्याफ्टिङ जानुअघि मानिसमा आत्मविश्वास जरुरी हुन्छ । तर, अति नै आत्मविश्वास भयो भने पनि हानिकारक हुन सक्छ ।
- र्याफ्टिङ बोटमा बस्नुअघि तपाईंलाई गाइडले विभिन्न निर्देशन दिने गर्छन् । झन्डै आधा घन्टा सेफ्टी ब्रिफिङ हुन्छ । नदीमा यात्रा गरुन्जेल तपाईंले गाइडको दिएको निर्देशन पालना गर्नुपर्छ । भवितव्यलाई ख्याल गर्दै ब्रिफिङ गरिन्छ ।
- कतिपय अवस्थामा बोट पल्टिन पनि सक्छ । त्यस्तो वेलामा कसरी सुरक्षित रहने भनेर पहिल्यै ब्रिफिङ गरिएको हुन्छ । ब्रिफिङ ध्यानपूर्वक सुन्न जरुरी छ । नदीमा बगिहालियो भने खुट्टा कुन साइडमा राख्ने, टाउको कसरी राख्ने भन्नेबारे ज्ञान हुनुपर्छ । डोरीलाई कसरी समात्ने भन्ने कुराको जानकारी हुनुपर्छ । टायरलाई कसरी टिप्ने भन्ने सबै जानकारी हुनुपर्छ ।
- र्याफ्टिङ गर्दा सुरक्षाका सबै उपाय अपनाउन कुनै कन्जुस्याइँ गर्नुहुँदैन । हेल्मेट, लाइफ ज्याकेट अनिवार्य लगाउने र कायाक समाउन छाड्नुहुँदैन ।
- आपत्कालीन अवस्थामा डराउनुहुँदैन । नदी सामान्य अवस्थामा भन्दा वर्षात्को समयमा स्वाभाविक रूपमा ठूलो हुन्छ । यस्तो वेला सुरक्षाका लागि धेरै रिभर गाइड खटिएका हुन्छन् । आपत् परेका वेला एक–अर्काको सहयोगी बन्नुपर्छ । मौसमबारे पूर्वजानकारी लिएर मात्र र्याफ्टिङ जाने मिति तय गर्नु राम्रो हुन्छ ।