नेपालमा बढ्दो फुटसल क्रेज

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

पछिल्लो समय काठमाडौं र सहरी क्षेत्रमा फुटसल खेल्नेको संख्या बढेको छ । स्कुल–कलेज वा कार्यालय छुट्टी भएको समयमा धेरै बालबालिकादेखि युवायुवती फुटसल खेल्न आउने गरेको ललितपुरस्थित हरिसिद्धि फुटसलका सञ्चालक राज महर्जनको अनुभव छ । 

महर्जन भन्छन्, ‘फुटसल खेल्दा आनन्द आउँछ । इन्डोर खेलिने भएकाले घामपानीको परवाह नगरी ढुक्कसँग खेल्न पाइन्छ । दैनिक एक घन्टा फुटसल खेल्दा व्यायामसँगै रमाइलो पनि हुन्छ । त्यसैले पनि युवाहरू यस खेलतर्फ आकर्षित भइरहेका छन् ।’ 

थमस भुसाल फुटसल प्रशिक्षक
थोरै क्षेत्रफलमा मैदान निर्माण गर्न सकिन्छ । सानोटिम बनाएर पनि खेल्न सकिने भएकाले यसको आकर्षण बढेको हो । चार–पाँच जनाको टिम बनाएर आफूलाई अनुकूल मिल्ने समयमा पनि खेल्न सकिन्छ । त्यसैले फुटसलप्रतिको आकर्षण बढेको हो ।

अधिकांश युवा समूह बनाएर फुटसल खेल्न आउने उनले बताए । महिला पनि आफ्नो टिम बनाएर खेल्न आउँछन् । सात वर्षदेखि सञ्चालनमा आएको यो फुटसल कोर्टले वेला–वेलामा प्रतियोगिता पनि आयोजना गर्ने गरेको उनले बताए । ‘हामी बालबालिकाका लागि पनि फुटसल प्रतियोगिता आयोजना गर्ने गर्छौं । अभिभाकहरू आफ्ना छोराछोरीलाई फुटसलमा लिएर आउँछन् । रमाइलोका लागि आउँछन् । फुर्सदको समय सदुपयोग गर्ने धेरैको रोजाइमा फुटसल नै छ,’ उनले भने । 

फुटसल मैदान प्रयोग गरेबापत सेवाग्राहीसँग प्रतिघन्टा १५ सय रूपैयाँ लिने गरेको उनले बताए । बिहान र बेलुकाको समयमा बढी र दिउँसो केही कम शुल्क लिने गरेको उनको भनाइ छ । पछिल्लो समय महिलामा फुटसल मोह बढ्दै गएको उनले बताए । ‘महिला पनि फुटसल खेल्न आउने गरेका छन् । ब्याचलर पढ्दै गरेका युवतीहरू पनि आउँछन् । यसले पनि नेपालमा फुटसल क्रेज बढ्दो देखाउँछ,’ उनले भने । 

शंखमूल फुटसलका सञ्चालक युनेश अवाले मनोरञ्जन तथा मित्रवत् भावना विकास गर्ने उद्देश्यले कर्पाेरेट हाउस, स्कुल, कलेजलगायत संस्थाहरूले खेल आयोजना गर्ने गरेको बताउँछन् । ‘बिहान र बेलुका फुटसल खेल्न आउनेको संख्या बढ्दो छ । फुटसलले शारीरिक रूपमा तन्दुरुस्त राख्नुका साथै स्वास्थ्यमा पनि आराम मिल्छ । फुटसल खेल्नेलाई मात्रै होइन, हेर्नेलाई पनि उत्तिकै आनन्द हुन्छ,’ उनले भने । 

फुटसल खेल्ने बढेसँगै पछिल्लो समय सहरी क्षेत्रमा फुटसल एकेडेमीको संख्या पनि बढेको फुटसल प्रशिक्षक थमस भुसालले बताए । ‘नेपालभर झन्डै चार सय फुटसल मैदान विस्तार भइसकेको छ । ‘काठमाडौं, भक्तपुर, ललिपुर, पोखरा, धरान, चितवन, जुम्ला, महेन्द्रनगरलगायत प्रमुख सहरमा विस्तार भएको छ । जुम्लाको खलंगा सहरमा पनि फुटसल पुगिसकेको छ,’ उनले भने । 

फुटसलमा लगानीकर्ता पनि बढ्दो रहेको उनको भनाइ छ । ‘थोरै क्षेत्रफलमा मैदान निर्माण गर्न सकिन्छ । सानो टिम बनाएर पनि खेल्न सकिने भएकाले यसको आकर्षण बढेको हो । चार–पाँच जनाको टिम बनाएर आफूलाई अनुकूल मिल्ने समयमा पनि खेल्न सकिन्छ । जसले गर्दा पनि फुटसलप्रतिको आकर्षण बढेको हो,’ उनले भने ।

उनका अनुसार स्कुल, कलेजदेखि हरेक पेसा व्यवसायमा लागेका मानिसको रोजाइमा फुटसल पर्न थालेको छ । फुटसल एकेडेमीमा प्रशिक्षण गर्ने युवाको संख्या बढ्दा फुटबल खेलको विकासमा पनि सहयोग पुगेको उनले बताए । ‘फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् । फुटबलको अभ्यासमा यसले सहयोग गर्छ । कतिपय फुटसल खेलाडी पछि गएर राष्ट्रिय फुटबल टिममा पुगेका छन् । यो पनि फुटसलको देन हो,’ उनले भने । 

फुटबलमा आवश्यक पर्ने बेसिक ज्ञान फुटसलले सिकाउने उनले बताए । अर्कोतर्फ, नेपालले फुटसलका अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउन थालिसकेको छ । ‘फुटसलको राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाल सहभागी हुन थालेको छ । यसले देशको गरिमा बढाउनसमेत भूमिका खेल्छ,’ उनले भने । 

फुटसलको इतिहास 
उरुग्वेका एक शिक्षक जुवान कार्लोस सिरियालीले सन् १९३० मा इन्डोर शैलीको फुटबल खेलको अवधारणा अघि सारे, यसैलाई फुटसलको सुरुवात मानिन्छ । सिरियानीको लक्ष्य फुटबलसँग मिल्दोजुल्दो एउटा त्यस्तो टिम गेमको विकास गर्ने थियो, जसलाई इन्डोर र आउटडोर दुवैमा खेल्न सकिन्छ । यस खेलले फुटबलमा अभ्यस्त हुन चाहने धेरैलाई आकर्षित गर्न थाल्यो । सुरुमा बास्केटबल कोर्टमा खेल्न मिल्ने गरी यस खेलको विकास गरिएको थियो । यस खेलसम्बन्धी नियमहरू बनाएर सेप्टेम्बर १९३३ मा पुस्तक निकालियो । फुटबल त्यतिवेलै उरुग्वेको लोकप्रिय खेल थियो र यस खेलमा उरुग्वेले १९३० को पहिलो विश्वकप जितिसकेको थियो । १९२४ र १९२८ को ओलम्पिक खेलमा पनि उरुग्वेले स्वर्ण जितिसकेको थियो । 

See More On

सुझावित समाचार