जनप्रशासन क्याम्पसमा बेथिति

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

१० लाख हिनामिना गर्ने तीन कर्मचारीलाई त्रिविको उन्मुक्ति, अख्तियारलाई देखाउँदै कारबाही गर्नबाट पछि हट्यो रजिस्ट्रार कार्यालय 

बल्खुस्थित जनप्रशासन क्याम्पसमा लेखा शाखाकै कर्मचारीबाट आर्थिक हिनामिना भएको पाइएको छ । विद्यार्थी भर्ना हुँदा बुझेको शुल्क र कर्मचारीकै चेकको रकम झिकेर लेखापाल सविता श्रेष्ठसहित तीनजना लेखाका कर्मचारीले झन्डै दश लाख रकम हिनामिना गरेका हुन् ।

त्रिवि आन्तरिक लेखापरीक्षकको कार्यालयले क्याम्पसको आन्तरिक आर्थिक लेखापरीक्षण गर्ने क्रममा झन्डै चार महिनाअघि नै रकम हिनामिना भएको पत्ता लगाएको थियो । त्यसपछि क्याम्पस प्रशासनलाई आर्थिक हिनामिनाबारे छानबिन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै क्याम्पस प्रशासनले आन्तरिक छानबिन गरेर आर्थिक हिनामिना भएको ठहर गर्दै तीन महिनाअघि नै त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । तर, हालसम्म पनि आर्थिक हिनामिना गर्ने कर्मचारीलाई रजिस्ट्रार कार्यालयले कारबाहीको गर्न सकेको छैन । रकम हिनामिना गरेका तीनजना कर्मचारी नियमित रूपमा कार्यालयमै आइरहेका छन् । 

क्याम्पस प्रमुख हरिभक्त शाहीले आफूहरूले कारबाहीका लागि त्रिवि रजिस्ट्रार कार्यालयलाई प्रमाणसहित पठाउँदा पनि कारबाही नभएको बताए । ‘उनीहरूमाथि मैले कारबाही गर्न मिल्दैन, रजिस्ट्रार कार्यालयले गर्ने हो । तर, रजिस्ट्रार कार्यालयलाई कारबाही गर्न केले छेक्यो ?’ उनले भने, ‘मैले त हिनामिना भएको हो भनेर तीन महिनाअघि नै रजिस्ट्रारकहाँ कारबाही गर्न भन्दै सिफारिस गरेको हो ।’ 

क्याम्पसले कारबाही गर्न सिफारिस गरे पनि त्रिवि रजिस्ट्रार कार्यालयले भने अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई पर्खेर बसेको छ । उसले एक महिनाअघि नै अख्यिारलाई छानबिनका लागि पत्र र प्रमाण पठाइसकेको छ । तर, कानुनअनुसार त्रिवि आफैँले रकम हिनामिना गर्ने कर्मचारीलाई कारबाही गर्न सक्छ । रजिस्ट्रार कार्यालयले प्रमाण हुँदाहुँदै पनि कर्मचारीलाई कारबाही नै अघि नबढाई उम्काउन खोजेको कर्मचारीहरू बताउँछन् ।

क्याम्पसले छानबिन प्रतिवेदनसहित कारबाही गर्न तीन महिनाअघि नै सिफारिस गरेपछि रजिस्ट्रार कार्यालयले पनि दुई महिनाअघि आर्थिक प्रशासन महाशाखा अधिकृत रूपा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले पनि प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा पनि क्याम्पसका लेखा शाखाका कर्मचारीले रकम हिनामिना गरेको खुलेको छ । तर, आफ्नै समितिले समेत हिनामिना भएको ठहर गर्दा पनि त्रिविले कारबाही गरेको छैन ।

त्रिवि उपकुलपति धर्मकान्त बास्कोटा अख्तियारले कारबाही गर्नुपर्ने भन्दै पछि हटेका छन् । रजिस्ट्रारको कार्यालयले गरेको छानबिनमा पनि ८–१० लाख रुपैयाँ हिनामिना गरेको ठहर गरिसकेको छ । तर, उक्त विषयमा अख्तियारले छानबिन र कारबाही गर्नुपर्ने धारणा उपकुलपति बास्कोटाको छ । ‘क्याम्पसले गत वर्ष पनि गुपचुप गरेर आर्थिक हिनामिना गरेको अनुसन्धानबाट पायौँ,’ उनले भने, ‘यसपटक पनि त्यस्तै बदमासी भेटिएकाले अख्तियारलाई छानबिन गरी कारबाही गर्न भन्दै एक महिनाअघि पत्र पठाएका थियौँ । हामीले भन्दा अख्तियार नै कारबाही गर्दा राम्रो हुन्छ भनेर उसैलाई छाडिदिएका छौँ ।’ उनले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा पनि आर्थिक अनियमितता भेटिएकोले छानबिन भइरहेको बताए । 

पछिल्लो समय त्रिविको आन्तरिक लेखापरीक्षक (आलेप)को कार्यालयले जनप्रशासन क्याम्पससँग एक वर्षदेखिको आर्थिक कारोबारको विवरण माग गरेर छानबिन तथा अध्ययन गरिरहेको छ । आलेपको छानबिन सकिएपछि कति रकम हिनामिना भएको हो थप वास्तविकता खुल्ने क्याम्पस प्रमुख शाहीको भनाइ छ । उनका अनुसार त्रिविले कारबाही नगरे हिनामिना भएको रकम लेखाका कर्मचारीबाटै असुल गरिनेछ । 

यसरी भएको थियो रकम हिनामिना 
जनप्रशासन क्याम्पसको लेखा शाखामा लेखापाल सविता श्रेष्ठसहित तीनजना कर्मचारी छन् । उनीहरूले चार–पाँच महिनाअघिदेखि नै थोरैथोरै रकम हिनामिना गर्दै आइरहेका थिए । उक्त विषयको खुलासा चार महिनाअघि नै त्रिवि आन्तरिक लेखापरीक्षकको टोलीले पत्ता लगायो । क्याम्पसले विद्यार्थीको रेकर्ड तथा शुल्क डिजिटल प्रविधिबाट गर्दै आइरहे पनि सिस्टममा समस्या आएका वेला नगद कारोबार गर्छ । चार–पाँच महिनायता स्नातक तह र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले सात लाखभन्दा बढी रकम भर्ना तथा फाराम शुल्कका रूपमा बुझाएका थिए । कर्मचारीले सो रकम ती विद्यार्थीलाई डिपोजिटर बनाएर क्याम्पसको खातामा राख्नुपर्ने थियो । तर, कर्मचारीले उक्त रकम खातामै नराखी आफूहरूले हिनामिना गरेको खुलेको छ ।

जनप्रशासन क्याम्पसले स्नातक तहमा एक सेमेस्टरका लागि २५ हजार र स्नातकोत्तर तहमा १५ हजार रुपैयाँ लिँदै आएको छ । तर, सिस्टममा समस्या हुँदा विद्यार्थीले नगद तिरेको रकम लेखाका कर्मचारीले हिनामिना गरेको क्याम्पस प्रमुख शाहीको भनाइ छ । ‘हामीले सबै कुरा बैंकिङ प्रणालीमार्फत गरेका छौँ, तर कहिलेकाहीँ बैंक बन्द भएपछि विद्यार्थीले नगद बुझाउँछन् । कहिलेकाहीँ सिस्टममै समस्या आउँछ, त्यतिवेला नगद बुझाउँछन्,’ उनले भने, ‘तर, विद्यार्थीले तिरेको पैसा कर्मचारीले क्याम्पसको बैंक खातामा जम्मा नगरी हिनामिना गरे ।’ उनका अनुसार जसले नगद तिरेको हो, उक्त विद्यार्थीले पैसा तिरेको रेकर्ड डिजिटल सिस्टममै राखिएको छैन । यसबाहेक शिक्षक केशवराज पाण्डे, उपप्राध्यापक सञ्जय घिमिरे र पुरुषोत्तम शर्मालाई कापी परीक्षण गरेबापत क्याम्पसले दिएको १५ हजार रुपैयाँको चेक पनि लेखाका कर्मचारीले आफैँ साटेर रकम हिनामिना गरेका छन् । लेखाका कर्मचारीबाट रकम दुरुपयोग हुन थालेपछि अब ‘एकाउन्ट पे’ अनिवार्य गरिएको क्याम्पस प्रमुख शाहीले जानकारी दिए ।

सुझावित समाचार