तनावले शरीरमा देखिने असर

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

शारीरिक वा मानसिक रूपमा बेचैनी हुनु, चिन्ताग्रस्त हुनु तनाव हो । धेरै–थोरै तनाव सबैमा हुन्छ । अत्यधिक तनावले शरीरमा नकारात्मक ऊर्जा सिर्जना गर्छ, जसले हर्मोनमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा बेचैनी, आलस्य, अनिद्रा, अधैर्यको विकास गर्छ । तनाव व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् । 

पाचन प्रक्रियामा असर :  तनावले मानसिक रूपमा मात्रै नभई शारीरिक रूपमा पनि प्रत्यक्ष असर गरिरहेको हुन्छ । तनावले पाचन प्रणालीमा पनि प्रभाव पार्ने गर्दछ । जस्तै, बान्ता हुनु, पेट दुख्नु, कब्जियत हुनु, झाडापखाला लाग्नु आदि जस्ता स्वास्थ्य समस्या हुनुका पछाडि तनाव मुख्य कारण हुन सक्छ । तनावले शरीरका अंगमा सीधा असर गर्ने हुँदा श्वास बढ्ने, धड्कन अनियन्त्रित हुने, हर्मोनमा परिवर्तन आउने हुन सक्छ । 

मुटुमा समस्या :  करिब ३० प्रतिशतभन्दा बढीमा हृदयाघात र स्ट्रोकको मुख्य कारण तनाव हुने गरेको पाइन्छ । तनाव व्यवस्थापन गर्न नसक्दा मुटुको धड्कन गडबड हुने र मुटुले धेरै रगत पम्प गर्ने गर्छ । यस्तो हुँदा रक्तचाप बढ्छ । रक्तचाप बढ्दै जाँदा मस्तिष्कको कोषिकामा असर पर्छ र मस्तिष्कघातको जोखिम रहन्छ । 

प्रतिरक्षा प्रणाली घट्नु :  तनावले शरीरको प्रतिरक्षा प्रणालीमा कमी ल्याउँछ । तसर्थ, अत्यधिक तनाव लिएर बस्ने व्यक्तिलाई रुघाखोकी र फ्लुजस्ता समस्याले छिटो सताउँछ । तनाव लिएर बस्ने व्यक्ति धेरै समय अस्वस्थ भएर बिताउन बाध्य हुन्छन् । 

स्मरणशक्ति घट्नु :  लामो समयसम्म तनाव लिएर बस्दा मस्तिष्कको कार्यक्षमतामा सुस्तता आउँछ । स्मरण गर्ने क्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । 

टाउको दुख्ने :  टाउको दुखाइ र तनाव एकआपसमा सम्बन्धित छन् । टाउको दुखाइको कारणले तनाव र तनावको कारणले टाउको दुख्ने हुन्छ । 

अत्यधिक तनाव हुँदा मस्तिष्कको रक्तसञ्चारमा दबाब सिर्जना हुन्छ र टाउको दुख्छ । यस्तै, तनावले छाती तथा 
शरीरका अन्य अंगमा समेत दुखाइ उत्पन्न गराउँछ । 

महिनावारी गडबडी :  स्ट्रेसले हर्मोनमा ल्याउने परिवर्तनका कारण स्वास्थ्य समस्या निम्त्याइरहेको हुन्छ । महिनावारी गडबडी हुनुमा समेत तनावले भूमिका खेलिरहेको हुन्छ । सामान्यतया महिलाको मनोविज्ञानले दिने स्ट्रेसले गर्दा महिनावारीमा असर परिरहेको हुन्छ । 

कपाल झर्ने :  असामान्य रूपमा कपाल झर्नुको कारण तनाव पनि हो । कपाल टुक्रिँदै जाने र पातलो हुने, बीचबीचबाट झर्ने र बिस्तारै टाउको नै मुडुलो हुने हुन्छ । तनाव व्यवस्थापन गर्दा यो समस्या आफैँ ठीक भएर जान्छ ।

अनिद्रा :  लामो समयसम्म तनाव लिएर बस्ने व्यक्तिमा बिस्तारै अनिद्राको समस्या हुन्छ । जसले गर्दा बिस्तारै मानसिक स्वास्थ्यमा असर देखिन्छ । तसर्थ, तनावलाई समयमै व्यवस्थापन गर्न आवश्यक हुन्छ । 

तौल बढ्ने :  तनावले शरीरमा कर्टिलोज नामक हर्मोन उत्पादनमा वृद्धि ल्याइदिन्छ, जसले मेटाबोलिजमको दर घटाइदिने हुँदा अस्वस्थकर रूपमा तौल वृद्धि हुन्छ । तनाव बढी हुँदा कमजोरीपन देखिन्छ र मानिसले क्यालोरीयुक्त खानेकुरा धेरै प्रयोगमा ल्याउन थाल्छन् । कालान्तरमा यसले  मोटोपन निम्त्याउँछ । 

See More On

सुझावित समाचार