बबई नदीमा दाउरा निकाल्ने क्रममा बगेर तीनजना बेपत्ता भएका छन्। नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा विभिन्न स्थानबाट बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा गुलरिया नगरपालिका– २ का २३ वर्षीय महेश चौधरी, वडा नम्बर ८ थपुवागाउँका अन्दाजी २७ वर्षीय अक्षय थारू र १२ भैँसाहीका अन्दाजी ३० वर्षीय बालकृष्ण थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराका अनुसार तीनैजना दाउरा खोज्न गएका वेला छुट्टाछुट्टै स्थानबाट बेपत्ता भएका हुन्। बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेको डिएसपी बोहोराले जानकारी दिए।
दाउरा तथा काठहरू निकाल्ने क्रममा नदी तटका स्थानीय नदीमा जाने क्रम बढेपछि स्थानीय प्रशासनले बर्खाको समयमा नदीमा दाउरा निकाल्न वा अन्य प्रयोजनका लागि नदी किनारमा नजान अनुरोध गरेको छ।